काठमाडौं, फागुन १९ । सञ्चालनमा आएको करिब डेढ वर्षपछि अनलाइन कारोबारले गति लिन थालेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ल्याएको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) मा आबद्ध भइ कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो।
आइतबार नेप्सेमा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भयो। यो कारोबार रकम नेप्सेको इतिहासमै सबैभन्दा बढी हो। त्योमध्ये २ अर्ब १५ करोड रुपैयाँको कारोबार नट्सबाट भएको नेप्सेले जनाएको छ। यो प्रणालीबाट भएको कारोबार कुल कारोबारको ४४.४७ प्रतिशत हो। नेप्सेले अनलाइन कारोबारको यो रकम र हिस्सा पनि अहिलेसम्मकै सबैभन्दा धेरै भएको जनाएको छ।
नेप्सेको अनलाइन कारोबार प्रणालीमा आवद्ध भएर भएको कारोबार रकम भन्दा कारोबार सङ्ख्याको हिस्सा उच्च देखिएको छ। आइतबार ३९ हजार २ सय ८९ कारोबार भएकोमा २० हजार १ सय ४७ कारोबार अनलाइनबाट भएको थियो। यो करिब ५१।२८ प्रतिशत हिस्सा हो। त्यस्तै, कुल १ लाख ६४ हजार ४ सय ७२ कारोबारको आदेशमा ६२ हजार ७ सय ९८ ओटा आदेश यो प्रणालीमार्फत् भएको समेत नेप्सेले जनाएको छ। यो करिब ३८.१८ प्रतिशत हो।
शेयर बजारमा कारोबार रकमसँगै र कारोबार भएको शेयर सङ्ख्या र आदेश सङ्ख्या धेरै भए पनि कारोबारमा संलग्न लगानीकर्ताको सङ्ख्या भने ज्यादै न्यून देखिएको छ। आइतबार १६ हजार ७ सय ५२ जना व्यक्ति त्यस्तो किनबेचमा संलग्न भएकोमा ३ हजार ८ सय ६ जना मात्रै अनलाइन कारोबारमा संलग्न छन्। यो करिब २२.७१ प्रतिशत मात्रै हो।

























