काठमाडौं, फागुन १७ । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको उपाधि जित्ने लक्ष्य लिएको नेपालले खराब सुरुवात गरेको छ।
थाइल्याण्डको बैंककमा शनिबार भएको पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित हुँदै नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको हो।
टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८/३८ रन बनाए। खराब सुरुवात गरेको नेपालका लागि दुवैले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए। तर, पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले लक्ष्य पुरा गर्न सकेन।
यस्तै नेपालका पवन सर्राफले १९ रन बनाए। ओपनर कुशल मल्ल सुन्य रनमा आउट हुँदा पारस खड्का ९ रन बनाएर पेभेलियन फर्किए।
विनोद भण्डारीले ७ रन जोड्दा आरिफ शेख पनि ५ रनमा आउट भए। करण केसी २, सन्दीप लामिछाने १ रनमा आउट हुँदा सुशन भारी सुन्य रनमा आउट भए।
मलेसियाका शार्भिन मुनिन्डेले ४ विकेट लिए। खिजार हायत, पवनदिप जगजित सिंह र इजाद इद्रुसले २/२ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।
मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए। अमिनुदुन राम्लेले २९ रन जोडे।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन्। उनले टी-ट्वान्टीमा १ सय २ विकेट पुरा गरेका छन्।
यस्तै अविनाश बोहराले २ विकेट लिए। करण केसीको नाममा एक विकेट रह्यो।
अब नेपालले आइतबार हङकङसँग खेल्नेछ।
प्रतियोगिता अन्तर्गत नै शनिबार सिंगापुरले थाइल्याण्डलाई हराएर विजयी सुरुवात गरेको छ।
प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङ रहेका छन्। राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।


























