काठमाडौं, फागुन १६ । ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ।
झण्डै आठ लाख छाप्नु पर्नेमध्ये अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था विभागले जनाएको छ।
झण्डै पाँच लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी छ। विभागले तीन चरणमा उपकरण सञ्चालन गरेर बाँकी अनुमतिपत्र छापिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए।
आगामी असारसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने विभागको लक्ष्य छ। महिनामा एक लाख ५० हजारभन्दा बढी अनुमतिपत्र छपाइ भइरहेको छ। उनले भने, “यही गतिमा काम अघि बढ्दा आगामी असारसम्ममा सकिन्छ।”
विभागका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म छ। नयाँ उपकरणले चार सय देखि पाँच सय अनुमतिपत्र एक घण्टामा छाप्न सक्छ। पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो। तीमध्ये तीन वटाले काम गर्छन्। पुराना तीन उपकरण र ‘मास प्रिन्टर’ दुवैको प्रयोग गरी बाँकी अनुमतिपत्र छाप्न लागिएको विभागले जनाएको छ।
विभागले गत वर्ष ग्लोबल खरिद प्रक्रियामार्फत मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर किनेको हो। विभागले छपाइ गर्नसक्ने क्षमताभन्दा माग धेरैगुणा बढी हुँदा एक वर्ष सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन्।
कतिपय कार्ड छापिएको लामो समयसम्म सेवाग्राही लिन नआउँदा व्यवस्थापनमा कठिन भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। अनुमतिपत्र परीक्षा लिने र वितरणको काम प्रदेश कार्यालबाटै सञ्चालन भइरहे पनि छाप्ने काम विभागले गर्दै आएको छ।


























