धादिङ, फागुन ११ । धादिङमा आज विहान टायर पड्किएर ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
विहान ३ बजेर २० मिनेटको समयमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाट स्थित पृथ्वी लोकमार्गमा वीरगञ्जबाट बनेपातर्फ जादै गरेको ना ५ ख ३७७७ नं को शालिमार सिमेन्ट बोकेको ट्रक सडकबाट अन्दाजी एक सय मिटर तल त्रिशुली नदीमा खसेको थियो।
टायर पड्किएर आफै अनियन्त्रित भइ नदीमा खस्दा ट्रकका चालक मकवानपुर भिमफेदी गाउँपालिका २ भैसे बस्ने ४६ वर्षीय बिखे थोकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।
चालक थोकरको उपचारको क्रममा आज विहान ५ बजेर १० मिनेटको समयमा गजुरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा घाइते भएका सहचालक सप्तरी रुपनगर बस्ने १८ वर्षीय राजेश विकको धादिङस्थित गजुरी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।


























