चितवन, फागुन ९ । विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा दिने निर्णय गरेको छ।
महानगरपालिको बोर्ड बैठकले केन्द्र सरकारले बनाउने चार्जिङ स्टेसनका लागि केन्द्रीय बस टर्मिनल भरतपुरभित्र नै स्थान उपलब्ध गराउने निर्णय गरेको हो। महानगरले ठाँउ मात्रै उपलब्ध गराउने छ भने, बजेट लगायतका बाँकी काम सबै केन्द्र सरकारले नै गर्नेछ।
केन्द्र सरकारले महानगरपालिकालाई हाइवे आसपासमा जग्गा उपलब्ध गराउनका लागि अनुरोध गरेको थियो। पूर्व पश्चिम चल्ने लामा तथा छोटा दूरीका सवारी साधानहरु बसपार्कमा नै रोकिने भएकोले केन्द्रीय बसपार्कमा रहेको ठाउँ नै उपयुक्त देखिएकोले निर्णय गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन्। चार्ज गर्ने पाँच वटा केन्द्र रहने गरी स्टेशन तयार गरिने छ।
सरकारले विद्युतीय सवारी सञ्चालनका लागि देशका मुख्य स्थानहरू चार्जिङ स्टेसनका बनाउँदै छ। विद्युतीय सवारीको प्रयोग आर्थिक हिसाबले मितव्ययी र वातावरण अनुकुल हुने भन्दै सरकारले यस सवारीलाई प्रोत्साहन गरिरहेको छ।
महानगर बोर्ड बैठकले यातायात व्यवस्था सेवा कार्यालय भरतपुर–११ र २ को सिमाना रहेको आँपटारी क्षेत्रमा बनाउन स्थान उपलब्ध गराउने निर्णय पनि गरेको छ।
त्यस्तै, महानगरको बोर्ड बैठकले प्रदेशस्तरीय उद्योग ग्राम भरतपुर–२० मा ५ बिघा क्षेत्रफलमा बनाउने भएको छ। महानगरको उद्योग ग्राम भने भरतपुर–२१ मा बनाउने निर्णय यसअघि नै भएको थियो।






















