झारखण्ड, फागुन ७ । भारतको झारखण्ड राज्यको पाकुड जिल्लामा बुधबार बिहान एउटा बसमा अचानक आगलागी भएको छ। राँचीबाट पाकुडतर्फ जाँदै गरेको उक्त बस गुडिरहेकै समयमा आगलागीको चपेटामा आएको हो।
स्थानीय समयानुसार करिब पौने पाँच बजे बडकियारी गाउँमा पुगेपछि बसमा आगो सल्किएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रीले धुँवाको गन्ध महसुस गरेपछि चालकलाई बस रोक्न भनेका थिए। बस रोक्दासम्ममा पछिल्लो भागमा आगो सल्किएको थियो।
बस रोकेर सबै यात्री बाहिर निस्किएका कारण मानवीय क्षति नभएको बताइएको छ। यद्यपि वारुण यन्त्र आएर आगो नियन्त्रणमा लिनुअघि बस र बसभित्र रहेका सामान जलेर नष्ट भइसकेको थियो।
बसमा विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बसको आगोले सडक छेउमा रहेको एउटा घर र पसलमा समेत क्षति पुगेको बताइएको छ। एजेन्सी
Facebook Comments






















