फागुन ५ । सारा अली खान र कार्तिक आर्यनको फिल्म ‘लभ आजकाल’ ले बक्स अफिसमा खासै कमाइ गर्न सकेको छैन। प्रणय दिवसको अवसर पारेर रिलिज भएको यो फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन्।
इम्तियाज अलीले बनाएको यो फिल्मलाई लिएर दर्शक लामो समयदेखि प्रतीक्षारत थिए। सन् २००९ मा रिलिज भएको सैफ अली खानको ‘लभ आजकाल’ को रिमेक भएका कारण पनि यो फिल्मको चर्चा थियो।
९० औं दशकको लभस्टोरी देखाइएको यो फिल्मले दर्शकको ध्यान तान्न सकेन। नेपालमा पनि फिल्मले आशा गरिएअनुसारको व्यापार गर्न सकेको छैन। यद्यपि मल्टिप्लेक्समा दर्शक नआए पनि पर्याप्त शो भने दिइएको छ।
फिल्मले नकारात्मक रिभ्यु पाएको छ भने माउथ पब्लिसिटी पनि राम्रो छैन। विश्लेषक तरण आदर्शले ‘लभ आजकाल’ लाई दर्शकले रिजेक्ट गरेको बताएका छन्।
उनका अनुसार फिल्मले पहिलो विकेन्डमा २८ करोड ५१ लाख कलेक्सन गरेको छ। फिल्मले पहिलो दिन १२ करोड ४० लाख भारुको ओपनिङ गरेको थियो। त्यस्तै दोस्रो दिन ८ करोड १ लाख भारु कमाएको थियो भने आइतवार ८ करोड १० लाख भारू कमाइ गरेको छ।
सन् २००९ मा रिलिज भएको सैफ र दीपिका पादुकोणको फिल्मले भने पहिलो विकेन्डमा २७ करोड ८६ लाख भारु कमाइ गरेको थियो।


























