काठमाडौं, माघ २७ । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास निर्माणका क्रममा अर्को निकायको काममा अवरोध र क्षति पुर्याउनेमाथि कारवाही चलाउनुपर्ने बताएका छन्।
गत आर्थिक वर्षमा अन्तरनिकाय संरचना निर्माण प्रकियामा सरकारी निकायबीच समन्वय नुहँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेको थियो। मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याएपछि गरिएको सडक विस्तार र ढल खन्ने क्रममा नयाँबानेश्वर, कालोपुल, बागेश्वरी, बल्खुलगायत क्षेत्रमा करोडौं मूल्यको पाइप फुटेको थियो। सरकारी निकायबीच समन्वय अभावमा ३० किलोमिटर पाइप फुट्दा १६ करोड रुपैयाँको क्षति भएपछि अर्थमन्त्री खतिवडा आक्रोशित भएका हुन्।
जसले पाइप फुटाएको हो, उसैबाट क्षतिको रकम उठाउनुपर्नेमा मेलम्ची खानेपानी विकास समितिले अर्थमन्त्रालयबाट बजेट मागेर काम अघि बढाएको सन्दर्भमा अर्थमन्त्री खतिवडाले कडा प्रतिक्रिया दिएका हुन्।
मेलम्ची विकास समितिले भने जहाँबाट लिए पनि सरकारी रकम नै चाहिने भएकाले सोझै अर्थमन्त्रालयमा माग गरिएको जनाएको छ। तर अर्थमन्त्री डा। खतिवडाले यस विषयमा छानबिन गर्नुपर्ने अडान राखेका हुन्।
सोमबार बसेको विकास तथा प्रविधि संसदीय समितिको बैठकमा अर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन्। ‘हामीले पाइपका लागि पैसा निकास गरेका छौँ, उनले भने, यसरी लापरवाही गर्नेमाथि छानविन हुनु पर्छ।’ खतिवडाले विगतको तुलनामा अन्तरमन्त्रालय समन्वय बढेको दाबी गरेका छन्।
उनले कतिपय कामका लागि कानुनको सुधार आवश्यक रहेको बताउँदै यसमा सरकार तयार रहेको पनि प्रतिवद्धता जनाए। खतिवडाले कतिपय गर्नुपर्ने काममा सहजताका लागि सार्वजनिक खरिद ऐन संशोधन गरिएको बताउँदै अरु गर्नैपर्ने कामका लागि केही नेपाल ऐन संशोधन गरेर अघि बढाउनु पर्नेमा जोड दिए।
खतिवडाले नयाँ काम गर्न स्रोतका विषयमा पहिचान गरेर अघि बढ्नुपर्ने पनि बताएका छन्। सडक र त्यससँग सम्बन्धित अन्य कामलाई एकीकृत रुपमा योजना कार्यन्वयन गर्ने गरी अघि बढाइएको युटिलिटी करिडोरको सन्दर्भमा बोल्दै खतिवडाले स्रोत व्यवस्थापन पनि महत्वपूर्ण रहने बताएका हुन्।

























