माघ २७ । अल्जेरियाको दक्षिणी क्षेत्रमा आत्मघाती कार बम आक्रमण हुँदा १ सैनिक मारिएका छन्। मालीको सीमानजिक दक्षिणी अल्जेरियाको टिमिऔन क्षेत्रमा अल टेरेन भेइकल एटिभी चढी आएको आत्मघातीले आक्रमण गराएको अल्जेरियन अधिकारीले जनाएका छन्।
हमलाकारी एटिभी चढेर सैनिक ब्यारेक भित्र प्रवेश गर्न खोजेको तर ब्यारेकको सुरक्षाका लागि बसेका गार्डले गाडी रोकेपछि आत्मघाती आक्रमण गराएको थियो । आक्रमणमा ब्यारेकको सुरक्षाका लागि बसेका सैनिक मारिएका हुन्।
आक्रमणकारीको पहिचान हुन नसकेको बताइएको छ। त्यस्तै, आक्रमणको जिम्मा पनि हालसम्म कुनै समूहले लिइसकेको छैन। अल्जेरियामा केही समय बिराएर आत्मघाती बम आक्रमण हुँदै आएका छन्।
पछिल्लो पटक अघिल्लो वर्षको अगष्ट महिनामा अल्जेरियाको जनराष्ट्रिय सेनालाई लक्षित गरी आत्मघाती बम आक्रमण भएको थियो। उक्त आक्रमणको जिम्मा आतंककारी संगठन इस्लामिक स्टेटले लिएको थियो।
विशाल साहारा मरुभूमि रहेको अल्जेरियाको दक्षिणी क्षेत्रमा अल कायदा र इस्लामिक स्टेटसहित धेरै आतंककारी र लडाकु समूह सक्रिय छन्।


























