– सविता अधिकारी
चितवन, माघ २२ । भरतपुर महानगरपालिका वडा नं. २२ स्थित पटिहानीको घटगाईमा ‘अम्ब्रेला स्ट्रिट’को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। ग्रामीण पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यका साथ निर्माण थालिएको अम्ब्रेला स्ट्रिटको यही फागुन १ गते उद्घाटन गर्नेगरी तयारी भइरहेको वडा नं २२ का अध्यक्ष विष्णुप्रसाद महतोले जानकारी दिए।
‘हामीले जनवरी १ मै उद्घाटन गर्ने लक्ष्य लिएका थियौँ, तर समयमै काम नसकिँदा केही समय पछाडि धकेलिएको हो,’ उनले भने। आवश्यक संरचना निर्माणको काम लगभग सकिएको उनले बताए। ‘अब छाता राख्न मात्रै बाँकी छ,’ उनले भने, ‘त्यो पनि माघ महिनाभित्रमा सक्छौँ।’

स्थानीय र केन्द्र सरकारको बजेटमा नेपालमै नयाँ कार्यको थालनी गरिएको उनको भनाइ छ। पर्यटनसँग जोडिएको विषय भएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले बजेटको व्यवस्था गरेको उनले बताए। अम्ब्रेला स्ट्रिट बनाउन थालेदेखि नै चर्चामा छ।
अध्यक्ष महतोका अनुसार करिब तीन करोड रूपैयाँ बराबरको लगानीमा निर्माण गरिएका ‘स्ट्रिट’मा हरियालीसहतिको पार्क तथा खुला पसल हुनेछ। अम्ब्रेला स्ट्रिटको स्थापनासँगै समग्र पटिहानी क्षेत्रको पर्यटन विकासले ठूलो फड्को मार्ने विश्वास लिइएको छ।
तीनदिने खाना महोत्सव
अम्ब्रेला स्ट्रिटको उद्घाटनसमेत समेटेर फागुन १ देखि ३ गतेसम्म सोही स्थानमा फुड फेष्टिवल (खाना महोत्सव) गर्ने तयारी गरिएको छ। भरतपुर महानगरपालिका-२२ र पटिहानी पर्यटन विकास समितिले पटिहानी क्षेत्रकै प्रचारप्रसार र अम्रेला स्ट्रिटको शुभारम्भ भएको जानकारी गराउन संयुक्तरूपमा महोत्सव आयोजना गर्न लागेका हुन्।

महोत्सवमा स्थानीय संस्कृति झल्किने खानाका परिकारसँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ। सरकारले घोषणा गरेको एकसय गन्तव्यभित्र समेटिएको पटिहानी क्षेत्रको पर्यटन विकासमा महोत्सवले विशेष भूमिका खेल्ने वडा अध्यक्ष महतोले बताए। ‘पर्यटन विकासको लागि नेपालमै नयाँ खालको काम गरेका छौँ भनेर देखाउनको लागि पनि महोत्सव आयोजना गरेका हौँ,’ उनले भने।
राप्ती नदी किनारमा अवस्थित पटिहानीबाट चितवन राष्ट्रिय निकुञ्जमा पाइने जंगली जनावर पाटे बाघ, एकसिंगे गैँडा, गोहीसहित विभिन्न खालका चराचुरूङ्गी देख्न पाइन्छ।


























