काठमाण्डौं, माघ २२ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारमा आयोजित’‘सारङ्गी साँझ’ मा आफू उपस्थित नहुनु संयोग बाहेक केही नभएको बताएका छन्।
प्रेस संगठन नेपालले कास्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ‘सारङ्गी साँझ’ मा सहभागी नभएको अर्थ खोज्न थाले दुःख हुने बताए।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपालसहितको सांगितिक माहोलको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको सन्दर्भमा एक पत्रकारले कार्यक्रममा सहभागी नहुनु संयोग कि नियोजित भन्दै प्रश्न गरेका थिए।
‘संयोग भन्दा पनि हिजो म विहान बालुवाटारमा थिएँ। प्रधानमन्त्री ज्यूले भरे यहाँ एउटा कार्यक्रम छ आउनै पर्यो भन्नु भने’ प्रचण्डले भने,‘ मैले त पोखरा जाने कार्यक्रम बनाइसके अलि पहिलाकै कार्यक्रम हो म त बस्न नसक्ने भएँ भने।’
त्यतिबेला प्रधानमन्त्रीले आफूलाई कार्यक्रमबारे विशेष सोच रहेको बताएको प्रचण्डले उल्लेख गरे।
‘तपाईं आउँनै पर्थ्यो मैले अलि विशेष ढंगले सोचेको थिए भन्नु भएको थियो’प्रचण्डले भने,‘यो संयोगबाहेक केही होइन। कुनै अर्थ नखोज्नु होला दुःख हुन्छ।’


























