चितवन, माघ १७ । भरतपुर २३ स्थित पशुपतिनाथ मन्दिरको विकाससँगै आयुर्वेदिक अस्पताल सञ्चालन तथा क्यान्सर पीडितको सहयोगार्थ माघ ११ गतेदेखि सञ्चालित कोटिहोम महायज्ञ बन्द भएको छ। एक महिनासम्म सञ्चालन गर्ने भनिएको महायज्ञका प्रमुख वाचक नै विवादमा परेपछि एक साता नबित्दै महायज्ञ बन्द गर्न बाध्य भएको हो।
नारायणगढस्थित नारायणी नदी किनारमा भइरहेको महायज्ञका प्रमुख वाचक बालयोगेश्वर महाराजको ‘ठगीधन्दा’बारे समाचार निरन्तर प्रकाशन तथा प्रसारण हुन थालेपछि त्यसको प्रत्यक्ष प्रभाव महायज्ञमै पर्न गएको हो। दुईदिनसम्म कथा वाचन गरेका महाराज अहिले गुमनाम छन्।
‘महाराज’को हर्कतबारे समाचार प्रकाशित भएपछि माघ ११ गते महायज्ञको उद्घाटन गर्न आएका उपराष्ट्रपति नन्दबहादुर पुन पनि कार्यक्रम उद्घाटन नै नगरी राजधानी फर्किएका थिए। त्यसपछि भाँडिएको महायज्ञ अन्ततः आयोजकले शुक्रबार विज्ञप्ती जारी गर्दै बन्द भएको घोषणा गरिएको हो।
महायज्ञ नहुने भएपछि काम गरेका सबै लगानीकर्ता मर्कामा परेका छन्। महिनाैँ दिन लगाएर गरेकाे तयारीकाे रकम नै नपाउने भएपछि काम गरेकाहरु पनि अन्याैलमा छन्।


























