काठमाण्डौं, माघ १६ । बुधवारबाट शुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकमा आज समूहगत छलफल शुरु भएको छ।
बुधवारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल समूहगत रुपमा हुने भएको हो। जसका लागि १५ वटा समूह बनाइएको छ।
प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ। बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
समूहगत छलफल तीन स्थानमा हुने उनले जनाए। जस अनुसार धुम्बाराही र पेरिसडाँडामा रहेका पार्टी कार्यालय र राष्ट्रिय सभा गृहमा हुने छ।
समूहगत छलफलमा उठेका विषयलाई टोली नेताले केन्द्रीय समितिको बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ।
हिजोबाट शुरु भएको बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले सम्बोधन गरेका थिए भने अर्का अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको छ।
राजनीतिक प्रतिवेदनमा नेकपाको एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ। २०७७ मंसिरभित्र सबै स्थानीय तह प्रदेश तहका अधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ।