काठमाण्डौं, माघ १६ । चीनबाट विश्वव्यापी भएको निमोनिया उत्पन्न गराउने नोवल कोरोना भाइरस मानिसको शरीरमा प्रवेश गरेको २ देखि १० दिनभित्र लक्षण देखिन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मुख्यालयका अनुसार यो भाइरसको ‘इन्क्युवेसन पिरियड’ २ देखि १० दिनसम्म हुन सक्छ। यो भाइरसबारे अझ बढी तथ्यांक र संक्रमित व्यक्तिहरूको विस्तृत र इपिडिमियोलजिकल जानकारी उपलब्ध भएपछि मात्रै लक्षण देखिने समयबारे परिष्कृत अनुमान गरिनेछ।
संक्रमित बिरामीले खोक्दा र हाच्छिउँ गर्दा मुखबाट निस्कने पानीका ससाना थोपा (ड्रप्लेट) का माध्यमबाट अन्य व्यक्तिको शरीमा यो भाइरस पुग्न सक्ने समयबारे जान्नु नियन्त्रण प्रयासका लागि महत्वपूर्ण रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक एवं भाइरोलजिस्ट डा। वासुदेव पाण्डे बताउँछन्।
शरीरमा यसको संक्रमण भए पनि लक्षण नदेखिने व्यक्तिबाट वा ‘इन्क्युवेसन अवधि’ (शरीरमा किटाणु पुगेपछि लक्षण देखिने अवधि) मा रहेका व्यक्तिबाट अन्य व्यक्तिमा रोग सर्न सक्ने अवधिबारे विशेषज्ञहरूले अध्ययन गरिरहेका छन्। कान्तिपुर दैनिकबाट