काठमाडौं, माघ १५ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय गजल महोत्सव–२०७६’ बुधबारबाट सुरू भएको छ। राष्ट्रिय युवा परिसदको सह–आयोजनामा प्रतिष्ठानकै सभाहलमा भएको कार्यक्रमलाई बुधबार प्रतिष्ठानकै कुलपति गंगाप्रसाद उप्रेतीले दीप प्रज्वलन गरेर उद्घाटन गरे।
प्रमुख अतिथिको रूपमा निम्त्याइएका संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेशकुमार भट्टराई कार्यक्रममा उपस्थित नभएपछि सभाध्यक्ष ग्रहण गरिरहेका कुलपति उप्रेतीले नै उद्घाटन गरेका हुन्। प्रतिष्ठानमा गजलसहित नेपाली साहित्यसम्बन्धी कार्यक्रमहरू हुँदै आए पनि दुईदिनसम्म चल्ने महोत्सव भने पहिलोपटक आयोजना गरिएको हो।
दुई दिनसम्म चल्ने कार्यक्रमको तालिका प्रस्तुत गर्दै कार्यक्रम संयोजक एवम् प्रज्ञा–प्रतिष्ठान काव्य विभाग प्रमुख डा. हेमराज पाण्डेले भने, ‘गजलसम्बन्धी कार्यक्रम पहिले पनि आयोजना हुने गर्दथ्यो । तर, महोत्सवकै रूपमा भने यो नै पहिलो हो। त्यसैले नेपाली साहित्यको पनि अभिन्न अङ्ग बनेको छ गजल।’
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरूङले पनि गजल महोत्सवले प्रज्ञा–प्रतिष्ठानकै गरिमा बढाएको बताए। ‘गजलमात्र नभई समग्र नेपाली साहित्यले प्रतिष्ठानको गरिमा उच्च बनाएको छ,’ उनले भने।
गजलकार ज्ञानुवाकर पौडेलले ‘गजल महोत्सव’मा वाचन भएका गजलले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिए। ‘वि.सं.२०६१ सालदेखि नै एकेडेमीले जबसम्म गजललाई विधागत सम्मान दिँदैन, तबसम्म म यहाँको माइकबाट गजल सुनाउन्न भनेको थिएँ र सुनइनँ पनि,’ उनले भने, ‘तर, यो कार्यक्रमले मलाई निकै भावुक बनायो।’
पूर्व कुलपति बैरागी काइँलाले उर्दू फारसीबाट नेपालीमा भित्रिएको गजल अब ‘रोटी–बेटी’को सम्बन्धमा मात्र सीमित नरहेको बताए। ‘अब त यो विधाले नेपालको अङ्गिकृत नागरिकता पाइसक्यो,’ उनले भने, ‘त्यसैले अब उर्दू फारसीसँग नेपाली भाषाको सम्बन्ध पनि टाढा रहेन।’
गजलकार बुँद राना भने महोत्सवबाट आफूले देखेको सपना आंशिकरूपमा पूरा भएको बताउँछन्। ‘१० वर्ष अगाडि मैले देखेको सपना आंशिकरूपमा भएपनि पुरा भएको महसुस भएको छ,’ उनले भने।
प्रत्येक वर्ष आउने मोति जयन्तिलाई ‘गजल महोत्सव’को रूपमा मनाउन लिखित प्रस्ताव राखेको उनले बताए। ‘त्यसैले महोत्सवको रूपमा सुरू भएको छ यो सकारात्मक हो,’ उनले भने।
दुईदिनसम्म चल्ने कार्यक्रममा देशभरका विभिन्न जिल्लाबाट उपस्थित गजलकारहरूले आ–आफ्ना सिर्जना सुनाउनेछन्।