काठमाडौं, माघ ६ । काभ्रेका अर्जुन लामाका हत्या प्रकरणमा मुछिएका नेता अग्निप्रसाद सापकोटालाई नेकपाले आइतबार सभामुख बनाउने निर्णय गर्यो। २०६८ सालदेखि विचाराधीन मुद्दामा अन्तिम सुनुवाई चलिरहेका बेला सापकोटालाई सभामुख बनाउने नेकपाले निर्णय गरेको हो।
लामाको हत्या प्रकरणमा अनुसन्धान हुनुपर्ने र कर्तव्य ज्यान जस्तो जघन्य अपराधको मुद्दा लागेको व्यक्तिलाई मन्त्री वा अन्य सार्वजनिक पद दिन नहुने जिकीर गर्दै दायर भएको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। गत पुस २५ गते सुनुवाइमा रहेको मुद्दा स्थगित हुँदै माघ २२ गते सुनुवाई हुने भएको छ।
द्वन्द्वकालमा विद्यालय व्यवस्थापन समितिको विवादमा काभ्रेका अर्जुन लामाको तत्कालीन विद्रोही नेकपा (माओवादी)ले अपहरण गरी हत्या गरेका थियो। चन्दा नदिएको, माओवादीलाई अटेर गरेको भन्दै लामाको हत्या भएको थियो।
हत्यापछि लामाकी श्रीमती पूर्णिमायाले सापकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। उनको जाहेरीमाथि अनुसन्धान नभएपछि पूर्णिमायाले सर्वोच्च अदालतमा मुद्दा दायर गरिन्। उक्त मुद्दामा सर्वोच्चले अनुसन्धान प्रतिवेदन पेस गर्न आदेश दिएको छ।
सर्वोच्चको आदेशअनुसार काभ्रे प्रहरीले एक÷एक महिनामा अनुसन्धान प्रगति प्रतिवेदन पेस गर्दै आएको छ। अपहरणमा परेको एक महिनापछि असार दोस्रो साता गाडेको अवस्थामा लामाको शव फेला परेका थियो।
पूर्णिमायाले नेता सापकोटासहित माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानले हत्या गरेको भनी किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले भने हालसम्म अनुसन्धान अधिकृत तोक्ने, कृष्ण माविका शिक्षकहरू शिवनारायण यादव, भीमबहादुर तामाङ, मुकुन्दप्रसाद अधिकारी र राधेश्याम श्रेष्ठसँग बकपत्र गर्ने कार्य भएको विवरण सर्वोच्चलाई बुझाएको छ।
आइतबार नेकपाले उनै आरोपित सापकोटालाई सभामुख बनाउने निर्णय गरेसँगै यसअघि पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको छ। उक्त बैठकमा सभामुखको लागि निर्वाचन प्रकृया अगाडि बढ्ने बताइएको छ भने उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पनि राजिनामा निदे सम्भावना रहेको नेकपा सचिवालय स्रोतले जनाएको छ।