चितवन, माघ १ । सडक विस्तारका क्रममा काटिएका रुख समुदायले दाबी गरेपछि रोकिएको नारायणगढ बुटवल सडकखण्डको काम पुनः सुरु भएको छ।गत पुस २६ गतेबाट रोकिएको काम दुई दिनअघि सुरु भइसकेको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए।
कावासोती नगरपालिका-२ को शिव सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुले काटिएका रुख डिभजन वन कार्यालयलाई नदिने भन्दै अवरोध खडा गरेपछि काम रोकिएको थियो।
कावासोतीको नजिकै महाराजा सामुदायिक बनको क्षेत्रको रुख काटेर शिव सामुदायिक बनमा प्रवेश गरेपछि स्थानीयले विरोध गरेका थिए। आयोजनाले विवाद भएको ठाँउमा काम रोकेर गैंडाकोट नगरपालिकाको थुम्सी नजिकबाट रुख कटान र सडक विस्तारको काम अघि बढाएको हो।
थुम्सीमा सडक सीमाका रुखहरु काट्ने र सडक विस्तार दुवै काम सँगै अघि बढाइएको छ। सडक विस्तारका क्रममा पूर्वी र पश्चिम दुवै खण्डमा गरी ४६ हजार २ सय ९४ रुख काट्नुपर्नेछ।
वन डिजिभन कार्यालय नवलपुरले गत पुस ८ गते रुख कटानको पूर्जी दिएपछि रुख काट्ने काम सुरु भएको थियो। गैंडाकोटदेखि कावासोती बर्खाअघि नै कामको तीव्र गति दिने योजना बनिरहेको भए पनि विभिन्न उल्झनहरु झिक्ने गरिएको आयोजनाको भनाइ छ।
११३ किलोमिटर लामो नारायणगढदेखि बुटवलसम्मको सडकखण्ड अन्तर्गत गैंडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४ किलोमिटर, पूर्वी खण्डलाई प्याकेज एक र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८ दशमलव ५ किलोमिटर, पश्चिम खण्डलाई प्याकेज दुई गरेर थालिएको सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ।
चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोट-दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लागेको छ।