काठमाडौं, पुस २६। चलचित्र ‘इन्काउन्टर’ को आइटम गीत ‘बारूली बारूली’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहका बीच गीत सार्वजनिक गरिएको हो। गीतमा सूर्य कमल राईको संगीत र नारायण नेपालको शब्द तथा मीना निरौलाको स्वर रहेको छ।
फिल्मको लेखन तथा निर्देशन नरेन्द्र भट्टराई (एनबी अञ्जान) ले गरेका हुन्। चलचित्रमा सहनिर्माता कविभक्त क्षेत्री र देवराज प्रसाई रहेका छन्। फिल्मका कार्यकारी निर्माता कुमार प्रसाद ओझा हुन्। फिल्म इन्काउन्टर नेपाली चलचित्र क्षेत्रका लागि नयाँ प्रयोग हुने निर्माता ओझाले बताए।
‘आमा फिल्मपछि नेपाली चलचित्र उद्योगमा कयौं फिल्म बने, हजारौं कथाहरू लेखिए, तर पृथक फिल्म निर्माण गर्न नसकेको आरोपबाट इन्डस्ट्री मुक्त भएन,’ ओझाले भने, ‘त्यही गुनासो सम्बोधन गर्नकै लागि हामीले इन्काउन्टर फिल्म निर्माण गरेका हौं।’
कार्यक्रममा चर्चित अधिवक्ता स्वागत नेपाल, पत्रकार ऋषि धमला लगायतले ‘इन्काउन्टर’ को सफलताका लागि शुभकामना व्यक्त गरेका थिए। फिल्ममा दिनेश डिसी, छुल्ठिम गुरुङ, सबिन श्रेष्ठ, दिनेश खड्का, बिएस राना, सबिता रेग्मी लगायतको अभिनय रहेको छ।


























