पर्सा, पुस २४ । पर्सा जिल्लामै पहिलो पटक हुन लागेको प्रथम हात्ती महोत्सवको तयारी सकिएको छ । चितवनसँग सिमाना जोडिएको ठोरी गाउँपालिकाकाको वडा नं. ५ स्थित सुवर्णपुर गडवा लाइनमा महोत्सव आयोजना गर्न लागेको हो। भोलि शुक्रबारदेखि हुने महोत्सव पर्यटन प्रवर्द्धन गर्ने उेद्देश्यले आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ (पीएल)ले जानकारी दिए।
पौष २९ गतेसम्म चल्ने महोत्सव अवलोकन गर्न आउनेहरुलाई हात्ती तथा जीप सफारी गराइनेछ। ‘पर्यटकहरुले हात्ती र जीप सफारी गरेर पर्सा राष्ट्रिय निकुञ्जको अवलोकन गराउने हाम्रो उद्देश्य हो,’ उनले भने। सफारीकै क्रममा पर्यटकहरुले महोत्सवस्थलबाट ३० किलोमिटर पूर्वी–उत्तरमा रहेको दुग्देश्वर महादेव मन्दिरको दर्शन गर्न पनि सकिनेछ।
महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको ठोरी ५ का वडा अध्यक्ष रामबहादुर पाख्रिनले बताए। महोत्सवको नेपालसँगै भारतीय पर्यटकहरुले अवलोकन गर्ने उनले बताए। महोत्सवमा आउने पर्यटकहरुलाई बस्नको लागि होमस्टेको सुविधा रहेको उनले बताए।
करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको महोत्सवको लागि गाउँपालिकाकाले १२ लाख रुपैयाँ बजेट छुट्याएको थियो। भ्रमण वर्ष–२०२० लाई सफल पार्नको लागि पर्सा जिल्लामै पहिलोपटक हात्ती महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवबाट पर्यटकीय सम्भावना बोकेका ठोरीको विभिन्न क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने आयोजकले जनाएको छ।