चितवन, पुस २३ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तरगत प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र ललितपुर, प्रदेश नं. ३ को बाली संरक्षण प्रयोगशाला ललितपुर र कृषि ज्ञान केन्द्र चितवनको संयुक्त आयोजनामा बुधबारदेखि चितवनमा ‘विषादी प्रयोग मुक्त सप्ताह–२०७६’ सुरू गरिएको छ। ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने मूल नारासहित कार्यक्रम सुरू गरिएको हो।
पछिल्लो समय बढ्दो विषादीको प्रयोगले गर्दा मानिसहरूमा विभिन्न खालका रोगको समस्या देखिन थालेकाले विषादीबारे सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए। नेपालमा प्रतिबन्धित विषादीको पनि लुकिछिपी प्रयोग हुने हुँदा त्यसले आम उपभोक्तामा कस्तो असर पुग्छ भन्ने विषयमा सबै उपभोक्तालाई जानकारी गराउन सके विषादी सेवनबाट समयमै बच्न सकिन्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँले विषादीको व्यापक प्रयोग बढ्दै गएकोले नेपालको उत्पादनमुलक माटोमा पनि उत्पादन हुन छाडेकोले किसान र उपभोक्ता बेलैमा सचेत हुनुपर्ने बताए। नेपालमा सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि भित्र्याइएको विषादी कृषि उत्पादनको रूपमा प्रयोग हुन थालेपछि यसको मात्रा वर्षेनि बढ्दै जाँदा त्यसको असर मानव स्वास्थ्यमा पर्न थालेको उनको भनाइ छ।
एकसातासम्म चल्ने कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले सबै जनतालाई निरोगी बनाउने अभियान भएकोले विषादीको विकल्पमा प्राङ्गारिक उत्पादनलाई पनि सँगसँगै अगाडि लैजानुपर्ने सुझाव दिए। कार्यक्रमको सुरूमा नारायणगढको लायन्सचोकदेखि क्षेत्रपुर हुँदै महानगर तरकारी बजारसम्म विषादी प्रयोगलाई न्यूनीकरण गर्न प्लेकार्डसहित र्याली निकालिएको थियो।

विषादी न्यूनीकरणबारे नाटक
महानगर तरकारी बजारमा पुगेर आयोजना गरिएको कार्यक्रममा नाटकमार्फत सचेत गराएका छन्। नाटकमा विषादीको सही प्रयोग गर्न नजान्दा मानव स्वास्थ्यमा पर्ने गम्भीर असरबारे जानकारी गराइएको थियो। कलाकारहरूले कुन विषादी कति मात्रामा र कसरी प्रयोग गर्ने भन्ने विषयमा समेत जानकारी गराइएको थियो। नाटकमार्फत विषादीको खुद्रा व्यापार गर्नेहरूले सुरक्षितका साधनको समेत बिक्री गर्न सुझाइएको छ। बुधबारबाट सुरू भएको कार्यक्रम पुस २६ गतेसम्म चल्नेछ।