चितवन, पुस २० । चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन दिने भएको छ। वडा नं ८ कान्तिपुरमा सुरू गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पेन्सन पाउने भएका हुन्। सामूहिक खेतीमा आबद्ध भएका ज्येष्ठ नागरिकलाई वार्षिक रु पाँच हजारका दरले पेन्सन उपलब्ध गराइने नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए। माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थामार्फत सामूहिक खेती गरिएको छ।
‘समाजवादको आधारशिला भनेको सामूहिक खेती हो,’ उनले भने, ‘सामूहिक खेतीबिना देशमा समृद्धि सम्भव छैन।’ माडीमा सुरू गरिएको सामूहिक खेती अन्यका लागि पनि उदाहरणीय रहेको जनाइएको छ। नगरपालिकाले कृषि र शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिँदै नगरप्रमुख ढकालले विशेषगरी सामूहिक उत्पादनलाई जोड दिएको बताए।
सूर्योदय सहकारीले सामूहिक खेती कृषक कल्याण कोषमा सुरूवातमा संस्थाले रु दुई लाख तथा नगरपालिकाले रु एकलाख जम्मा गर्न लागेको छ। कोषको रकमबाट आएको ब्याजले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथि उमेरका असक्त किसानलाई वार्षिक रु एक हजारका दरले रकम उपलब्ध गराउने सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले जानकारी दिए।
संस्थाका प्रबन्धक गायकले रु २५ हजार, माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले रु १० हजार र आले कन्स्ट्रक्शन कम्पनी प्रालि माडीका सञ्चालक मोहनबहादुर आलेले रु १० हजार कोषमा जम्मा गर्नेसमेत घोषणा गरेका छन्। कान्तिपुरमा १०० बिघामा सामूहिक खेती गरिएको छ। किसानले एक बाली खेती भित्र्याइसकेका छन्। – रासस