हेटौँडा, पुस १९ । प्रदेश राजधानी र नामकाे विषयमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ ले अब बस्ने प्रदेशसभा बैठकबाट पारित गर्ने भएकाे छ। नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरे पनि प्रदेशसभाले भने यही पुस २१ गते बस्ने बैठकबाट एकमतले पारित गर्ने जनाएकाे छ।
प्रदेश नं ३ का मुख्यमन्त्री निवासमा शनिबार बसेको दलको बैठकमा राजधानीको नाम र स्थान सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा आएको प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए। ‘सबैको भावनाको कदर गर्दै प्रक्रियाअनुसार नै राजधानी र नाम टुङ्ग्याइने छ,’ उनले भने। पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने र सांसदहरुले यसैअनुरुप सहमति जनाउने प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए।
प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले हालसम्म आफूहरुलाई पार्टीको सर्कुलर प्राप्त नभएको बताए। प्रदेशसभा सदस्य विनोद खड्काले प्रदेशको नाम वाग्मती र स्थान हेटौँडालाई अनुमोदनका लागि संसदीय दलको बैठक बसेको जानकारी दिँदै आगामी बैठकमा निर्णय पारित हुने जानकारी दिए। प्रदेशसभा सदस्य दीपक निरौलाले पार्टीको निर्णयानुसार नै राजधानीको नाम र स्थानमा आफूहरु उभिएको बताए। – रासस