काठमाडौं, पुस, १९ । अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले २९ वर्षीय एक नेपालीलाई सिड्नीको पश्चिम क्षेत्रबाट १४ वर्षीया किशोरीलाई गलत नियतले भेट्न खोजेको आरोपमा पक्राउ गरेको छ।
न्यू साउथ वेल्स प्रहरीका अनुसार गत नोभेम्बर महिनादेखि बालयौन शोषण तथा यौन अपराध विभागका प्रहरीले ती आरोपित व्यक्तिमाथि अनलाइनमार्फत निगरानी गरिरहेका थिए।
प्रहरीले ती व्यक्तिले १४ वर्षीया किशोरीसँग कुरा गरेको थाहा पाएर पनि अश्लील सामग्रीहरू पठाएको तथा यौन सम्पर्कका लागि भेट्ने प्रबन्ध मिलाएको आरोप समेत लगाएको छ।
करिब एक महिना लामो निगरानी र अनुसन्धानपश्चात उनलाई गत जनवरी २ तारिख बिहीबारका दिन न्यू साउथ वेल्स प्रहरीको एक टोलीले पक्राउ गरेको थियो। पक्राउपश्चात उनी बस्ने युनिटबाट एक ल्यापटप तथा अरू इलेक्ट्रोनिक समग्रीहरू पनि प्रहरीले बरामद गरेको जनाएको छ।
पक्राउपश्चात उनलाई पारामाटा प्रहरी कार्यालयमा लगिएका थियो। त्यहाँ उनलाई ‘१६ वर्षभन्दा कम उमेरको व्यक्तिलाई क्यारियर सर्भिसको उपयोग गरेर यौन क्रियाकलापमा संलग्न गराउन खोजेको’ आरोप लगाएको थियो।
प्रहरीले उनलाई शुक्रबार पारामाटा अदालतमा उपस्थित गराएको थियो। त्यहाँ उनको जमानत अस्वीकार गरिएको थियो।