पुस १८ । अस्ट्रेलियाको सेनाले भिक्टोरिया तटमा रहेको मल्लाकुटा शहरमा आगलागीबाट प्रभावित सयौँ मानिसहरूलाई बाहिर निकाल्न सुरु गरेको छ।त्यहाँ करिब ४ हजार मानिस गएको सोमबारदेखि समुद्रको आसपासमा अलपत्र अवस्थामा रहेका छन्।
राज्यका प्रिमियर डेनियल एन्ड्रूजले ती क्षेत्रमा फँसेका मानिसलाई सेनाको पानीजहाजमार्फत् उद्धार शुरु भएको बताएका छन्। उनले एकपल्टमा करिब १ हजारको हाराहारीमा मानिसहरूको उद्धार गरिने भएकाले सेनाले पटकपटक गरेर त्यहाँ फँसेका मानिसहरूको उद्धार गर्ने जानकारी दिए।
अलपत्र पर्नेमा पर्यटक र स्थानीय बासिन्दा समेत रहेका छन्। त्यहाँबाट हजारौँ मानिस न्यू साउथ वेल्सतिर पनि गएका छन्। त्यहाँ संकटकालको घोषणा गरिएको छ। गएको सेप्टेम्बरदेखि भएको आगलागीमा परेर अहिलेसम्म दुई राज्यमा १९ जनाको मृत्यु भएको छ।
प्रधानमन्त्री स्कट मोरिसनको आलोचना
डढेलो प्रभावित क्षेत्र कोबारगोको भ्रमणका क्रममा प्रधानमन्त्री स्कट मोरिसनले स्थानीयवासीले आलोचना गरेका छन्। डडेलोपीडितलाई भेट्न जाँदा विरोध गर्दै ‘तिमी आफ्नो घर जाऊ। यहाँ नआऊ’ जस्ता नाराहरूको सामना गरेपछि प्रधानमन्त्री मोरिसन त्यस क्षेत्रबाट छिट्टै फर्केको सञ्चारमाध्यमले जनाएका छन्।
त्यसैगरी प्रधानमन्त्री स्टक मोरिसनले डढेलो नियन्त्रणका लागि प्रभावकारी भूमिका नखेलेको भन्दै सामाजिक सञ्जालका साथै विपक्षी दलले समेत व्यापक विरोध गरेका छन्। एजेन्सी


























