चितवन, ११ पुस। चितवन साहित्य परिषदले दिँदै आएको ‘चिसाप कृष्ण–कृष्णा साहित्य पुरस्कार’बाट यसवर्ष लक्ष्मणहरि अर्यालको ‘औला’ र गणेश श्रमणको ‘गुलियो काठमान्डु’लाई पुरस्कृत गरिएको छ। २०७० सालबाट वितरण गर्दैै आएको पुरस्कारबाट शुक्रबार नारायणगढमा चितवनका सर्जकद्वारा लिखित दुईवटा लघु कथासंग्रहलाई संयुक्तरुपमा पुरस्कृत गरिएको हो।
११ हजार ४५ रूपैयाँ राशी बराबरको पुरस्कार १३६औँ लेखनाथ जयन्ती समारोहको अवसर पारेर वितरण गरिएको चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलले जानकारी दिए। यसवर्षको लागि २०७५ सालमा प्रकाशित पुस्तकमध्ये चितवन साहित्य परिषदलाई प्राप्त भएका पुस्तकभित्रबाट यी दुईवटा पुस्तक छनौटमा परेको उनले बताए।
सोही अवसरमा पुरस्कारका संस्थापकद्वय कृष्णप्रसाद पौडेल र कृष्णाकुमारी पौडेललाई समेत सम्मान गरिएको थियो।
अक्षयकोषको रकम वृद्धि
सातवर्षअघि एक लाख ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका पौडेलद्वयले यसवर्ष एकलाख १११ रुपैयाँ थपेर दुई लाख ५० हजार १११ रुपैयाँ पुर्याएका छन्। नेपाली साहित्य क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई हौसलास्वरुप उक्त अक्षयकोष स्थापना गरिएको अक्षयकोषदाता कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्राडा चुडामणि बन्धुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार चेतराज रेग्मीले दुवै कृति र व्यक्तित्वबारे चर्चा गरेका थिए। पुरस्कार ग्रहण गरेपछि आफ्नो भनाइ राख्दै साहित्यकार गणेश श्रमणले ५० सालदेखिको निरन्तरतालाई मूल्यांकन गर्दै पुरस्कृत गरेकोमा आभार व्यक्त गरे। साथै आउँदो एकवर्षभित्रै एउटा कविता संग्रहसमेत प्रकाशनमा ल्याउने तयारी भइरहेको उनले बताए।
अर्का पुरस्कृत स्रष्टा लक्षणहरि अर्यालले भने पुरस्कारले नेपाली साहित्यमा स्तरीय लेखन विकासको लागि भारी बोकाएको आभास भएको बताए।