चितवन, १० पुस। नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन विकासबाटै आर्थिक विकासले गति लिन सकिने बतएका छन्। चितवनको रत्ननगरमा क्षेत्रीय होटलल संघ सौराहाले आयोजना गरेको १६औँ हात्ती महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले भने, ‘पर्यटन क्षेत्रको विकास कहिल्यै सकिँदैन । अरु क्षेत्रको विकासको एउटा विन्दु हुन्छ, तर पर्यटन क्षेत्रमा सधैँ विकासको खाँचो परिरहन्छ।’
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० ले अन्तरर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गरेकोसमेत अध्यक्ष दाहालले बताए। निकुञ्ज आसपासका जनता र वन्यजन्तुबीचको समस्या समाधान गर्नको लागि निकुञ्ज ऐन २०२९ संशोधनको प्रक्रिया अगाडि बढेको भन्दै उनले थपे, ‘नयाँ आउने ऐनले मानव, वन्यजन्तु र निकुञ्जको हित गर्नेछ।’
दुलहीझैँ सिंगारियो सौराहा
महोत्सवलाई लक्षित गरी सौराहालाई ध्वजापतकाले दुलहीझैँ सिंगाारिएको छ। हरेक वर्ष आयोजना हुँदै आएको महोत्सव अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटकको भीड लागेको छ । महोत्सवअन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती द्रुत हिँडाई, हात्तीका छावाबीचमा रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्तीपोलो, हात्ती पेन्टिङलगायतका प्रतियोगिता आयोजना हुनेछन्
हात्तीको द्रुत हिँडाईमा ३० वटा हात्ती सहभागी हुनेछन्। हात्ती पोलो र छावाहरुबीचको फुटबल प्रतियोगितामा भने समान चार टोली सहभागी हुने खेल संयोजक अञ्जान पाण्डेले जानकारी दिए। उनका अनुसार हात्ती सुन्दरी प्रतियोगितामा पाँच टोली सहभागी हुनेछन्। बामाघमारा मध्यवर्ती सामुदायिक वनमा आयोजित महोत्सव पुस १८ गते सकिनेछ। रासस





















