–विक्रम गिरी र मुना कार्की,
काठमाडौं, १६ मंसिर। तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपालले हालसम्म तीन रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ।
यस्तै भारत तीन स्वर्ण, आठ रजत र तीन कास्यसहित दोस्रो स्थानमा छ। श्रीलङ्का तीन स्वर्ण, छ रजत र १० कास्यसहित तेस्रो, पाकिस्तान दुई स्वर्ण, तीन रजत र पाँच कस्यसहित चौथो, बङ्गलादेश एक स्वर्ण र १२ कास्यसहित पाँचौँ तथा भुटान एक कास्यसहित पदक तालिकाको छैठौं स्थानमा छ। माल्दिभ्सले भने अहिलेसम्म कुनै पदक प्राप्त गर्न सकेको छैन।
नेपालले सोमबार सम्पन्न खेलमा कराते र तेक्वान्दोमा आफ्नो वर्चश्व जमाएको हो। कराते र तेक्वान्दोमा मात्रै नेपालले १४ स्वर्ण जितेको छ। नेपालले पहिलो दिन कराते र तेक्वान्दोमा सात÷सात स्वर्ण जितेको हो। ललितपुरको सातदोबाटोस्थित कराते हलमा सोमबार भएका नौ स्पर्धामा नेपालले सात स्वर्ण र दुई रजत पदक जितेको हो।
नेपालका लागि सिनियर पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते। नेपालले महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पा¥यो। पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ किलो तथा विप्लवलाल श्रेष्ठले ८४ किलो तौलमा स्वर्ण जिते। यस्तै महिलातर्फ कुसुम खड्काले ४५ किलोमुनि तथा अनु अधिकारीले ५० किलोमुनि तौलमा स्वर्ण जिते। पुरुष कुमुतेमा दिवश श्रेष्ठ तथा महिला कातामा चन्चला दनुवारले रजत जिते।
यसैगरी नेपालले तेक्वान्दोको पुम्से विधातर्फ सात स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको हलमा १३ स्वर्णको छिनोफानो भएको थियो। श्रीलङ्काले तीन, भारतले दुई तथा बङ्गलादेशले एक स्वर्ण जित्यो। नेपालका लागि आयशा शाक्यले दुई स्वर्ण दिलाइन्। उनले व्यक्तिगत तथा समूहगत स्पर्धामा स्वर्ण जितेकी हुन्।
यस्तै नेपालका लागि पुम्सेतर्फ पार्वती गुरुङ, सीना लिम्बू मादेन र कमल श्रेष्ठले स्वर्ण जिते। नेपालले महिला समूह पुम्सेतर्फ १७–२९ उमेर समूह (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) तथा २३ वर्षमाथिको उमेर समूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जितेको हो।
यस्तै कृष्णबहादुर तामाङले रजत तथा अश्मित रावत, सीना मादेन लिम्बू, जितबहादुर बोट, पार्वती गुरुङ, कमल श्रेष्ठ र प्रेमबहादुर लिम्बूले कास्य पदक जिते । यसअघि सोमबारै कास्कीको पोखरामा सम्पन्न ट्रायथलनअन्तर्गत महिला स्प्रिन्ट विधामा नेपालका लागि सोनी गुरुङले स्वर्ण पदक जितेकी थिइन्।
