काठमाडौं, ०२ कात्तिक। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले समृद्ध नेपाल निर्माणका निम्ति लगानी भित्र्याउन संस्था प्रतिवद्धताका साथ लागि परेको बताएका छन्। एनआरएनएको तर्फबाट १२ अर्ब रूपैयाँ लगानी भित्र्याउने प्रतिवद्धताका साथ काम सुरू गरिएको उनले बताए।
एनआरएन नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधार्इ दिन रिपोर्टस् क्लबले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पन्तले नेपाल सरकारसँग १२ अर्ब रूपैयाँ भित्र्याउने भनेर एमओयु पनि गरिसकेको जानकारी दिए। ‘यो प्रतिवद्धता पूरा गर्नका लागि काम सुरू गरिसकेका छौँ,’ उनले भने।
उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत एनआरएनको लगानी रहने र बाँकी १० प्रतिशतमा पाँच प्रतिशत निजी क्षेत्र र अर्को पाँच प्रतिशत नेपाल सरकारको रहने अध्यक्ष पन्तले बताए। गैरआवासीय नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सीप, पूँजी र लगानी नेपाल भित्र्याएर देशको विकास र समृद्धिका लागि सामूहिक लगानी बढाइने उनको भनाइ छ।
पछिल्लो समय एनआरएनले नेपालमा सामूहिक लगानीमार्फत २७ मेगावाटको तोर्दी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ। कार्यक्रममा संस्थाका उपाध्यक्ष मन केसीले दीर्घकालीन योजनासहित काम गर्ने बताउँदै यसअघि गरिएका प्रतिवद्धता कार्यान्वयन गरेरै छोड्ने दाबी गरे।
उपाध्यक्षद्वय सोनाम लामा र अर्जुनकुमार श्रेष्ठले सरकारले घोषणा गरेबमोजिम नेपाल भ्रमण वर्ष–२०२० अभियानलाई सफल पार्न सक्रिय भूमिका निर्वाह गर्ने बताए।


























