चितवन, ०३ कात्तिक। उपचार गर्न आएकी बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन्। पिनासको उपचार गर्न गत असोज २६ गते अस्पतालमा भर्ना भएकी नवलपुरस्थित मध्यविन्दु नगरपालिका ९ वसन्तपुरकी ३२ वर्षिया आशा ज्ञवालीको शनिबार साँझ मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।
चिकित्सकको चरम लापारवाहीका कारण सामान्य अवस्थामा भर्ना भएर बसेको बिरामीको मृत्यु भएको पीडित पक्षको आरोप छ। शनिबार साँझ सामान्य बार्ता भए पनि निर्णय नआएपछि आइतबार दिनभर पीडित पक्षले दोषीमाथि कडा कारवाहीको माग गर्दै अस्पताल परिसरम प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा आक्रोशित भीडले ढुंगामुढा गरेर अस्पतालको मूल गेटको सीसा फुटाइदिएका छन्। सोही क्रममा पाँचजना प्रहरी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पीडित पक्षमाथि प्रहरीको अश्रुग्याँस
प्रदर्शनको क्रममा तोडफोडमा उत्रिएपछि पीडितपक्षमाथि प्रहरीले ४० सेल अश्रुग्याँस प्रहार गरेको छ। सोही क्रममा १२ जना नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। भीडलाई शान्त पार्न अश्रुग्याँस प्रहार गर्नुपरेको उनले बताए। तर, पीडित पक्षले भने प्रहरीले पीडित पक्षमाथि थप पीडा दिने गरी दमन गरेको आरोप लगाए।
पिनासको उपचार गर्न आएको बिरामीमो मृत्यु हुनुमा डाक्टरकै चरम लापारवाही रहेको मृतकका श्रीमान् नरेनको दाबी छ। त्यसैले उपचारमा संलग्न डाक्टरको लाइसेन्स खारेज गर्नुपर्ने र पीडित पक्षले उचित क्षतिपूर्ति पाउनुपर्ने मागसहित आन्दोलन गरेको उनले बताए। ‘उपचारमा संलग्न डाक्टरलाई यस्तो कारवाही होस् कि डाक्टरको लापारवाहीकै कारण मेरी श्रीमतीले जस्तै अकालमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस्,’ उनले भने।

तर, अस्पतालले भने बार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएको छ। अस्पतालका निर्देशन डा दयाराम लम्सालका अनुसार आइतबार साँझ दुई पक्षबीच बार्ता हुँदै गर्दा अस्पतालमा तोडफोड भएको हो। ‘हामी बार्ताकै क्रममा थियौँ, एक्कासी तोडफोड भएपछि बार्ता नै स्थगित भयो,’ उनले भने।