चितवन, असोज ३०। विगत १७ वर्षदेखि प्रसारण थालेको कालिका मिडियाले यसवर्ष १५औँ संस्करणको म्युजिक अवार्ड वितरण गरेको छ। बिहीबार नारायणगढमा भएको कार्यक्रममा ३० वटा विधामा कलाकारहरूलाई म्युजिक अवार्ड प्रदान गरेको हो।
कालिका मिडियाको गौरवमय १७औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न विधामा प्रदान गरेको म्युजिक अवार्ड मोफसलकै सबैभन्दा ठूलो अवार्ड हो। वरिष्ठ कलाकार नीर शाहले उद्घाटन गरेको कार्यक्रममा अवार्ड लिन विभिन्न जिल्लामा रहेका कलाकार बिहीबार नारायणगढस्थित नारायणी कला मन्दिरमा उपस्थित भएका थिए।
कुन विधामा कसले पाए अवार्ड ?
बिहीबार सम्पन्न म्युजिक अवार्ड कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रका विभिन्न कलाकारहरूले अवार्ड हात पारेका छन्। सर्वोत्कृष्ट गीत, संगीत, शब्द र स्वर गरी विभिन्न विधामा रहेर कलाकारहरूलाई अवार्ड प्रदान गरिएको कालिका मिडियाका निर्देशक दीपक पौडेलले जानकारी दिए।
वर्षको सर्वोत्कृष्ट आधुनिक गायनमा पुरूषतर्फ ‘मेरो भागको खुसी’ बोलको गीतमार्फत शिव परियार र महिलातर्फ ‘कुर्दैछु म’ बोलको गीतमार्फत दीपा लामाले अवार्ड हात पारेका छन्। सर्वोत्कृष्ट आधुनिक संगीततर्फ ‘पिरिम नलाउने’ बोलको गीतबाट संगीतकार दीपक शर्मा र शब्दतर्फ ‘त्यो सपना’ बोलको गीतको लागि होमथान न्यौपानेले अवार्ड पाउन सफल भए।
चलचित्रको गीतमा गायतनर्फ पुरूषमा ‘फूल होइन’ बोलको गीतमार्फत प्रताप दास र महिलातर्फ ‘पहिलो नम्बरमा’ बोलको गीतबाट विन्दु परियारले अवार्ड हात पारे। संगीततर्फ ‘पहिलो नम्बरमा’ बोलको गीतबाटै संगीतकार दीपक शर्माले अवार्ड लिन सफल भए। शब्दतर्फ भने क्याप्टेन चलचित्रमा समावेश ‘रहर छ सँगै’ बोलको गीतका लागि सर्जक युवा गीतकार दिग्गज धौरालीले अवार्ड पाए।
पप विधामा सर्वोत्कृष्ट गायन पुरूषतर्फ ‘सानी’ बोलको गीतमार्फत बुद्ध लामा र महिलातर्फ ‘तिम्रै पर्खाईमा’ बोलको गीतबाट गायिका अनामिका मल्लले अवार्ड सुरक्षित जिते भने संगीततर्फ ‘सानी’ बोलको गीतमार्फत संगीतकार अशुसेन लामाले अवार्ड हात पारे।
यस्तै रचनातर्फ भने ‘कवि देवकोटा’ बोलको गीतमार्फत चर्चित गीतकार एवम् संगीतकार एकनारायण भण्डारीले अवार्ड हात पारे। पप ब्याण्डतर्फ ‘हावाहुरी’ बोलको गीतमार्फत अभया एण्ड दि स्टिम ईञ्जिनले अवार्ड हात पार्यो।
लोकदोहोरी विधामा सर्वोत्कृष्ट गायन पुरूषतर्फ ‘लालुमै’ बोलको गीतमार्फत सन्दीप न्यौपाने र महिलातर्फ ‘गलबन्दी’ बोलको गीतमार्फत शान्तिश्री परियारले अवार्ड उचाले। सर्वोत्कृष्ट लोकदोहोरी गीतको भाकातर्फ ‘सालको पातको टपरी’ बोलको गीतबाट गायक एवम् सर्जक वसन्त थापाले अवार्ड लिए भने सर्वोत्कृष्ट शब्द रचनातर्फ ‘छोरो अमेरिका छ’ बोलको गीतमार्फत चर्चित गीतकार रमेश बिजीलाई अवार्ड प्रदान गरिएको छ।
लोकदोहोरी विधाकै स्थानीय गायनमा भने ‘अरेली’ बोलको गीतमार्फत गायिका अस्मिता डिसीले अवार्ड जितेकी छन्। सर्वोत्कृष्ट मध्यनेपाल गायनतर्फको विधामा ‘म तिम्लाई माया गर्छु’ बोलको गीतमार्फत गायक तम्पाशेर राईले अवार्ड हात पारे।
सर्वोत्कृष्ट संगीत संयोजनतर्फ ‘यो कुरा गोप्य’ बोलको गीतबाट आशिष अविरलले अवार्ड हात पारे। सर्वोत्कृष्ट नवप्रवेशी गायनतर्फ ‘कसरी’ बोलको गीतका गायक देवेन्द्र बब्लुले हात पारेका छन् भने वर्षको सर्वोत्कृष्ट गीततर्फ ‘पहिलो नम्बरमा’ बोलको गीतले अवार्ड प्राप्त गरेको छ। यस्तै सर्वोत्कृष्ट युगल गीततर्फ ‘कर्के नजर’ सञ्जिव पराजुली र टीका प्रसाई, सर्वोत्कृष्ट गजलतर्फ ‘चुपचाप छौ तिमी’मार्फत आनन्द कार्की र सुदन डोटेलले अवार्ड थापे।
सर्वोत्कृष्ट राष्ट्रिय गीततर्फ ‘नेपाली पन, नेपाली मन’ बोलको गीतका लागि सुमित खड्का र कृष्णबहादुर थापाले अवार्ड हात पारे। सर्वोत्कृष्ट भिडियो सम्पादनतर्फ ‘सानोमा सानो’ बोलको गीतमार्फत पवन सुश्लिङले अवार्ड जितेका छन्, भने सर्वोत्कृष्ट भिडियो निर्देशनतर्फ ‘इन्स्टाको फोटो’ गीतमार्फत अशिफ शाह र सर्वोत्कृष्ट सिनेम्याटोग्राफरतर्फ ‘मेरो भागमा’ बोलको गीतमार्फत बुद्ध थापाले अवार्ड हात पारेका छन्।
सर्वोत्कृष्ट भिडियो अभिनय विधामा पुरूषतर्फ ‘इन्स्टाको फोटो’मार्फत आशिफ शाह र महिलातर्फ सोही गीतमार्फत रेश्मा घिमिरेले अवार्ड हात पारेका छन्।

वरिष्ठ कलाकार शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
यसवर्ष कालिका मिडियाले वरिष्ठ कलाकार नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। करिब तीनसय चलचित्रमा अभिनय गरिसकेका वरिष्ठ कलाकार शाहलाई कालिका मिडियाले संस्थाको १७औँ वार्षिकोत्सव तथा १५औँ कालिका म्युजिक अवार्ड वितरण कार्यक्रमको अवसर पारेर बिहीबार नारायणगमा सम्मान गरेको हो।
‘वासुदेव’, ‘वसन्ती’, ‘मसान’, ‘सेतो बाघ’लगायतका चलचित्र निर्देशन गरिसकेका कवि, गीतकार एवम् वरिष्ठ अभिनेता शाहले चलचित्र क्षेत्रमा मात्रै करिब पाँच दशक समय खर्चिसकेका भन्दै अवार्ड प्रदान गरिएको कालिका मिडियाले जनाएको छ।


























