चितवन, ०१ कात्तिक। धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन्। धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन्।
जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन्। लामो समय प्रतिक्षा गर्दा पनि धानमा बाला नलागेपछि बाध्य भएर हरियो बोट काट्नुपरेको पूर्वी चितवन खैरहनी–११ पिद्रहनीका कृष्ण लामाले बताए। ‘धेरै कु¥यौँ, तर बाला लाग्ने छाँटकाँट देखिएन, हरियो बोट नै काट्यौँ,’ उनले भने। यसले अन्य बालीलाई समेत नोक्सान गर्ने भएकाले हरियो बोट काट्नुपरेको उनको भनाइ छ।
भारतबाट आयातित वर्णशङ्कर गरिमा जातको धानको बीउ लगाउने किसानको अहिले बिचल्ली भएको छ। धानमा बाला नलागेपछि एक महिनाअघि विज्ञहरुको टोलीले धानको निरीक्षण गरेको थियो। उनीहरुले धानमा बाला लाग्ने बताए पनि अझैसम्म बाला नलागेपछि सबैजसो किसानले हरियो बोट काटेर तरकारी लगाउने तयारी गरेका छन्।
कृषि ज्ञान केन्द्र चितवनले गरिमा जातको धानको बारेमा विज्ञसहितको टोलीले निरीक्षण गरे पनि यसको कारणबारे जानकारी गराएको छैन। कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले क्षतिको विवरण सङ्कलन भइरहेको बताए। किसानलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको उनले बताए।
व्यवसायीले धानको बीउ बिक्री गरेको तथ्याङ्कलाई आधार मानेर हेर्दा चितवनमा करीब ९५० बिघामा गरिमा जातको धान लगाइएको हुनसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। – रासस


























