पोखरा, ०५ असोज। महिलामैत्री सामाजिक संरचना र सञ्चारगृह नहुँदा पत्रकारिता क्षेत्रमा महिलाको गुणात्मक विकास हुन नसकेको पोखराका महिला पत्रकारहरूले गुनासो गरेका छन्। क्रियाशिल पत्रकार महिला समूह (डब्लुडब्जुजे)ले आइतबार भएको ‘फोकस ग्रुप डिस्कशन’ कार्यक्रममा सहभागी पत्रकार महिलाले व्यासायिकरुपमा अघि बढ्न महिला पत्रकारले विविधखालका चुनौतीको सामना गर्नुपरेको गुनासो गरेका हुन्।
महिलाको क्षमता दक्षतामाथि हर हमेसा प्रश्न उठाइने र कार्यक्षेत्रमा जाँदासमेत चारित्रिक रुपमा अनेक टिकाटिप्पणी गरेर आत्मबल कमजोर बनाउने खालका व्यवहार भोग्नुपरेको उनीहरूको भनाइ छ। कामको जिम्मेवारी दिँदासमेत विभेद् हुने गरेको डब्लुडब्लुजेका संस्थापक अध्यक्ष सङ्गीता लामाले बताइन्।
समाचार सङ्कलन गर्नुपर्ने अवस्थामा पारिवारिक तथा सामाजिकरुपबाट हेरिने नकारात्मक दृष्टिकोणले यस क्षेत्रमा समय र ऊर्जा खर्च गरेर भविश्य बनाउन समस्या भइरहेको उनको भनाइ छ।
महिला पत्रकारका समस्यालाई यथोचित सम्बोधन गरेर व्यावहारिकताबाट अगाडि नबढेसम्म पत्रकारितामा महिलाको गुणात्मक विकास हुन नसक्ने उनले बताइन्। ‘महिलाले सामाजिक, आर्थिक, सांस्कृतिकरुपमा थुप्रै विभेद् भोग्नु पर्दा स्थापित हुन ठूलो संघर्ष गर्नुपर्छ,’ उनले भनिन्, ‘महिलामैत्री वातावरणका लागि आफ्ना समस्या राखेर अधिकारको खोजी गर्न महिला अग्रसर हुनुपर्ने बेला आएको छ।’
संस्थाका उपाध्यक्ष निर्मला आचार्यले देश भरि नै महिला पत्रकारका समस्या उस्तै भएका भन्दै सामाजिक विभेद्का अवशेषलाई निर्मूल गरी नयाँ बाटोबाट महिला पत्रकारले पेशामा आफुलाई स्थापित गर्नुपर्ने चुनौती आएको बताइन्।
महिला पत्रकारका सवालमा अनुसन्धान गर्दै आएका योगेन्द्र नापितले समस्याको पहिचानपछि समाधानका लागि नीतिगत तहबाट पहल थाल्नुपर्ने सुझाव दिए। कार्यक्रममा पोखरामा क्रियाशिल २० महिलाको सहभागितामा अनुभवहरुको आदानप्रदान गरेर समस्यामाथि छलफल गरिएको थियो। – रासस


























