काठमाडौँ, २१ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालबाट समाजवादको नयाँ झण्डा फहराएरै छाडिने दृढता व्यक्त गरेका छन्। शनिबार राजधानीमा नेकपाका नेता डिपी ढकालद्वारा लिखित ‘पूँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ नामक पुस्तकको सार्वजनिक गर्दै अध्यक्ष दाहालले भने, ‘नेपालबाट समाजवादको नयाँ अध्याय सुरु भएरै छाड्ने छ। हामी कुनै पनि हालतमा केही न केही नयाँ मोडल स्थापित गरेरै छाड्नेछौँ। त्यसमा कुनै पनि तलमाथि हुने छैन।’
सङ्घ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमतसहितको सरकारले केही गर्न सकेन भनेर निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। ‘एक/डेढ वर्षमा केही भएन भनेर कुनै चिन्तित हुनु पर्दैन,’ उनले भने, ‘यत्रो विशाल जनमत भएको पार्टीले नेपाली जनताको अपेक्षाअनुसार नै काम गर्छ। जनताको चाहनालार्ई सम्बोधन गर्दै समाजवादको नयाँ आधार स्थापित गरेरै छाड्छ।’
अध्यक्ष दाहालले नेपालमा कस्तो ढाँचाको समाजवाद स्थापना गर्ने भन्नेबारेमा आफूहरु सबै अग्निपरीक्षामा रहेको बताए। आफूले हिम्मत गरेरै पार्टी एकतालाई अगाडि बढाएको उल्लेख गर्दै उनले समाजवादलाई समेत लागू गरेरै छाडिने प्रतिवद्धता व्यक्त गरे।
विश्वका सबैखाले अनुभवलाई केन्द्रमा राखेर नेपालको आफ्नै मौलिकतामा समाजवादको जग तयार पार्न आफूहरु लागेको र विशाल कार्यकर्ताको पङ्क्तिले बहस र छलफल गरेर त्यसलाई थप समृद्ध पार्ने उनले बताए। कुनै पनि दायाँबायाँ नगरी नेपाली जनतालाई साथमा लिएर समाजवादको नयाँ यात्रामा निस्कनसमेत नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।