चितवन, १९ भदौ। चितवनसहित तराईका जिल्लामा डेङ्गुको संक्रमणले तीव्र रूप लिएको छ। चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा पर्याप्त किट अभाव हुँदा बिरामीले परीक्षणको लागि निजी अस्पताल तथा प्रयोगशालाहरूमा जान बाध्य भएका छन्।
तर, यहाँका निजी अस्पताल तथा प्रयोगशालाले भने आफूखुसी डेङ्गु परीक्षण शुल्क लिने गरेको तथ्य खुलेको छ। भरतपुर चौबीसकोठीआसपास रहेका निजी अस्पताल र प्रयोगशालाहरूले बिरामीसँग एक हजारदेखि दुई हजार ६०० रूपैयाँसम्म शुल्क लिने गरेका छन्। सबैभन्दा बढी शुल्क चितवन मोडल हस्पिटलले लिने गरेको छ।
निजी अस्पताल तथा प्रयोगशालाले दिने गरेको शुल्क :
चितवन अस्पताल : एक हजार
एनआरएल ल्याब : एक हजार १००
आइआरएल : एक हजार २००
जयबुद्ध अस्पताल : एक हजार ५००
पुरानो मेडिकल कलेज : एक हजार ५००
आरडीएल : एक हजार ५००
भरतपुर सामुदायिक : एक हजार ५३०
पुष्पाञ्जली अस्पताल : एक हजार ६००
चितवन मेडिकल कलेज : एक हजार ८००
एडभान्स अस्पताल : २ हजार
नेसनल सिटी अस्पताल : २ हजार
नारायणी सामुदायिक : २ हजार
चितवन मोडल हस्पिटल : २ हजार ६ सय
जाँचको प्रकार र विधि एउटै भए पनि शुल्कमा एकरूपता नहुँदा बिरामी समस्यामा परेका छन्। डेङ्गु परीक्षण गर्ने एउटा गुणस्तरीय कीटलाई बढीमा ३ सय रूपैयाँसम्ममा अस्पतालहरुले किन्छन्। तर, न्यूनतम एक हजारदेखि अधिकतम २ हजार ६ सयसम्म परीक्षण शुल्क लिन्छन्। सरकारी अस्पतालले निःशुल्क डेंगु परीक्षण गर्दै आए पनि किट अभावका कारण बिरामी निजी अस्पताल तथा प्रयोगशाला जान बाध्य भएका हुन्।
स्वास्थ्य कार्यालयको चासो
यस विषयमा स्वास्थ्य कार्यालय चितवनले चासो देखाएको छ। ‘अस्पतालहरुले लिइरहेको परीक्षण शुल्कबारे गुनासो आएकाले हामी छलफलको तयारीमा छौँ,’ कार्यालयका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले भने, ‘निजी अस्पताल र प्रयोगशालालाई बोलाएर छलफल गरी परीक्षण शुल्कमा एकरुपता ल्याउन प्रयास भइरहेको छ।’
स्वास्थ्य कार्यालय चितवनको पछिल्लो तथ्यांकअनुसार साउनदेखि बुधबारसम्ममा कुल २ हजार १ सय ६८ को स्वास्थ्य जाँच गराउँदा ६ सय ८० जनामा डेङ्गु पुष्टि भएको देखिएको छ।


























