काठमाडौँ, १६ भदौ। उपचारको लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फिर्ने भएका छन्। नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत भनेका थिए।
भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ। ओलीले संसदीय काम कारवाही र विधेयकहरुको विषयमा जानकारी लिन नेम्वाङलाई फोन गरेका थिए।
प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिँदै उनले भने, उहाँले हिँजो साँझ आफैंले मलाई फोन गर्नुभएको थियो। मैले उहाँलाई कस्तो छ भनेर सोध्दा आफू एकदम ठीक छु र यसअघिको निर्धारित कार्यक्रम अनुसार नै २० गते फर्किन्छु भन्नुभएको छ।’
आफू र प्रधानमन्त्रीबीच संसदीय काम कारवाहीकै बारेमा बढी कुराकानी भएको नेम्वाङले बताए। विशेषगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको मस्यौदा यसअघि प्रधानमन्त्रीसहित नेकपा र कांग्रेस नेताहरुबीचको सहमतिअनुसार नै अघि बढिरहेको जानकारी आफूले गराएको उनले बताए।
अन्य विधेयकहरु पनि सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइएको र कुनै चिन्ता नलिन आफूले प्रधानमन्त्रीलाई भनेको नेम्वाङको भनाइ छ।