काठमाडौँ, १६ भदौ। बैंकिङ प्रणालीमा ‘मालवेर’ आक्रमण गरेर करिब दुई करोड रुपैयाँ लुट्ने योजनकारले स्पेनमा बसेर नेपालमा समूह परिचालन गरेको खुलासा भएको छ। शनिबार मध्यराति काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको अपरेशनका क्रममा पक्राउ परेका अभियुक्तले नाइके स्पेनमा रहेको बयान दिएका हुन्।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार स्पेनमा बसेर परिचालन गरे पनि ती व्यक्ति चिनियाँ नागरिक नै हुन्। शुक्रबार साँझ एयर चाइनाको उडानमार्फत काठमाडौं ओर्लिएका झु लिङ्याङ, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ नाइकेले भाडामा प्रयोग गरेका व्यक्तिमात्रै भएको अनुसन्धानका क्रममा खुलेको छ।
प्रहरीले सीसीटीभी फुटेजको आधारमा अर्का एक चिनियाँ नागरिकलाई पनि विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ परेकाहरुमध्ये अधिकांश पहिलो पटक नेपाल आएका हुन्। योजनाकारसँग भएको सहमतिअनुरुप उनीहरु शनिबार एटीएमबाट लाखौं निकालेपछि माया मनोहर बुटिक होटलबाट अन्यत्र सर्ने योजनामा थिए। आइतबार फर्किनलाई उनीहरुको टिकट थियो।
स्रोतका अनुसार होटलमा बस्ने व्यवस्था पनि विदेशबाटै अनलाइन सिस्टमको प्रयोग गरेर भएको थियो। ‘यो सबै काम पनि स्पेनबाटै भएको हुनसक्छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसतर्फ पनि अनुसन्धान गरिरहेका छौँ। तर, यो पाटोको अनुसन्धान त्यति सहज भने छैन।’
पक्राउ परेकामध्ये लिङ्याङ प्रविधिमा समेत दख्खल राख्छन्। उनले नै स्पेनमा रहेका ‘मास्टरमाइन्ड’सँग ल्यापटपमार्फत कम्युनिकेट गर्ने गरेको देखिएको अनुसन्धान अधिकृत स्रोत बताउँछ। ‘विदेशमा रहेको व्यक्तिबाट प्राप्त कोडलाई नक्कली एटीएममा उनैले इन्स्टल गर्ने गरेको देखिएको छ’, एक अधिकृतले भने, ‘इन्स्टल गरेपछि सबै बाहिर एक्टिभेट भएको खुलेको छ।’
अधिकृतहरुका अनुसार दुई समूहमा खटिएका व्यक्तिले झोलाभरि रकम ल्याउँदै कोठामा जम्मा गर्ने गरेका थिए। तर, दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमममा अस्वाभाविक रुपमा रकम निस्किएको देखिएपछि प्रहरीले यो समूहको योजना विफल पारिदिएको छ।
प्रतिव्यक्ति १० हजार युआन र १० प्रतिशत कमिसन
अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका व्यक्तिलाई अपरेशन सफल बनाएर फर्किए प्रतिव्यक्ति १० हजार युआन दिने सहमति भएको थियो। सहमतिअनुसार नेपालबाट लुटिएको रकमको १० प्रतिशत कमिसन पनि दिने भनिएको थियो। ‘प्लेन फेयर र खान–बस्न पनि उतैबाट व्यहोरेको देखिन्छ’, स्रोत भन्छ, ‘नेपाल पनि घुम्न पाइन्छ भनेर केटाहरु आएका रहेछन्।’
नेपाल बैंकर्स एसोसिएसनका अनुसार ह्याकरले बैंकिङ प्रणालीको स्वीचमै आक्रमण गरेर एक करोड ७६ लाख रुपैयाँ झिकेका थिए। यो रकम सर्वसाधारणको निक्षेपबाट भने नझिकिएको अधिकारीहरुको दाबी छ। प्रहरीले भने एक करोड २६ लाख २९ हजार रुपैयाँ मात्रै बरामद गरेको छ। बाँकी रकम फरार रहेका तीन जनासँग हुनसक्ने आशंका गरिएको छ।
प्रहरीले सीसी टीभी फुटेजमा कैद भएको दृश्यको माध्यमबाट समूहका अर्का एक सदस्यलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिनियाँ नागरिक सु लुसली छन्। उनलाई विशेष निगरानीका आधारका आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे।
शनिबार राति चलाइएको अपरेशनमा पक्राउ परेकाविरुद्ध भने बैंकिङ कसूर सम्बन्धी मुद्दामा उच्च अदालत, पाटनबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ।