काठमाडौँ, १० भदौ। तपाइँलाई कीर्तिपुर नगरपालिकाको मेयर अथवा उप–मेयरलाई भेट्नुपर्ने छ ? छ भने पोषाकमा ध्यान दिनुहोला। यदि तपाइँले शिष्ट र मर्यादित पोषाक नलगाए भेट्न पाउनुहुन्न। किनकि नगरपालिकाले शिष्ट र मर्यादित पोसाकमा आउन अनुरोध गर्दै हाफ पाइन्ट तथा भड्किला लुगा लगाउन रोक लगाएको छ।
त्यति मात्रै होइन, भेट्ने समय पनि तोकिदिएको छ। नगरपालिकाले सूचना जारी गरेर मेयर र उप–मेयरलाई भेट्न त्यस्ता पोसाक लगाउन नपाउने र २ बजेपछि मात्रै भेट्न पाउने निर्णय गरेको हो।
चिनजानका मान्छेहरू मनपरी समयमा आउने र अमर्यादित ढंगले हाफ पाइन्ट लगाएर आउन थालेपछि यस्तो सूचना निकाल्न परेको नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर रमेश महर्जनका अनुसार सेवाग्राहीभन्दा पनि चिनजानका मान्छे नै हाफ पाइन्ट लगाएर कार्यकक्षमा आउने हुँदा त्यसलाई निरुत्साहित गर्न सूचना जारी गरिएको हो।
‘किसान तथा अन्य सेवाग्राहीभन्दा पनि आफ्नै चिनजानहरूलाई आफूले भन्दा भन्दा थकित भएपछि सूचना निकाल्न बाध्य भएका हौँ,’ उनले भने। नगरपालिकाले मर्यादित पोषाकको लागि सूचना नै जारी गरेपछि भने आलोचना भइरहेको छ।