चितवन, ०९ भदौ। चितवनमा रवि लामिछानेका समर्थकहरूले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय चितवनले कडा आदेश जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय, चितवन जिल्ला अदालत वरिपरि रहेर आन्दोलन गर्दै आएका रवि समर्थकलाई जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखी सिमाना तोकरै पाँच जनाभन्दा बढी जम्मा हुन नपाउने आदेश जारी गरेको हो।
आन्दोलनले उग्ररूप लिन थालेपछि जिल्लाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन भन्दै आइतबार राति सुरक्षा समितिको बैठक बसेर स्थानीय प्रशासन ऐन–२०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्लाभित्र पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरेको हो।
प्रशासनले तोकेको चार किल्लाभित्र हुलदंगा मच्चाउने, अशान्ति पैदा गर्न खोज्ने जस्ता कृयाकलाप गरेको पाइएमा कडा कारवाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। जिल्ला प्रशासनले आइतबार राति नै विज्ञप्तिमार्फत जानकारी गराएपछि सामाजिक सञ्जालमा प्रशासनको समेत चर्को विरोध गरिरहेका छन्।
रवि समर्थकले आइतबार दिनभर चौबीसकोठीमा प्रदर्शन गरेका थिए। प्रदर्शनलाई मत्थर पार्न प्रहरीले दर्जनभन्दा बढी अश्रुग्याँस प्रहार गरेका थिए। प्रहरी आक्रमक बन्दै गएपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए। प्रदर्शनकारीले चौबीसकोठी, हाकिमचोक, चितवन मेडिकल कलेज गेटलगायतका स्थानमा टायर बाल्नुका साथै ट्राफिक आइल्याण्डमा समेत आगजनी गरिदिएका छन्।
जिल्ला प्रशासनले तोकेको चार किल्ला :

१) पूर्वः बाइपास सडकतर्फको आन्तरीक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म
२) पश्चिमः पूर्व–पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म
३) उत्तरः बाइपास सडकतर्फको आन्तरीक राजश्व कार्यालय चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म
४) दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म।


























