चितवन, ०८ भदौ। रवि लामिछानेका समर्थक र प्रहरीबीच भएको झडपमा जिल्ला प्रहरी कार्यालय चितवनका नायव उपरीक्षकसहित चारजना प्रहरी घाइते भएका छन्। आइतबार साँझ भएको झडपमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्दा प्रहरी घाइते भएका हुन्। सोही क्रममा प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि भएका गतिविधिका कारण विगत १० दिनदेखि चितवन अशान्त बनेको छ। पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै पत्रकार रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते प्रहरीले हिरासतमा लिएको थियो।
त्यसपछि चितवनमा हरेक दिन प्रदर्शन हुन थालेको छ। आइतबार भने प्रदर्शनले उग्ररूप लिएको थियो। प्रदर्शनकारीले भरतपुरको चौबीसकोठी क्षेत्रमा सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। हाकिमचोकमा रहेको ट्राफिक आइल्याण्डमा समेत आगजनी गरेका छन् भने केही सवारीसाधनमा समेत तोडफोड भएको छ।
साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको छ।