चितवन, ०९ भदौ। लगातार न्युज डटकमका सञ्चालक टेकलाल भुसालले रवि लामिछानेको लागि चार लाख ५० हजार रूपैयाँ रकम संकलन गरिदिएका छन्। सोमबार चितवन जिल्ला अदालतले रवि लामिछानेलाई पाँच लाख र युवराज कँडेललाई तीन लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि अपुग भएको रकमको लागि पछी फिर्ता आउने गरी सहयोग गरिएको भुसालले जानकारी दिए।

अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गरिएको छ। भुसालले चितवन जिल्ला अदालत परिषरमै पुगेर सीधै रवि लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। बैंकिङ कारोबार बन्द भइसकेकोले रकम बुझाउन नपाएको भन्ने जानकारी पाएपछि भुसालले लगातार न्युज डट कमको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिए।
रवि पक्राउ परेसँगै चितवनमा समर्थकले दैनिक आन्दोलन चर्काएका थिए। दुईपटकको म्याद थपपछिको इजलासबाट ११ औँ दिनमा रिहाई भएपछी रविका समर्थक खुसी भएका छन्।
मुद्दाको विषयमा कार्यक्रम गर्न नपाउने
आत्महत्या दुरुत्साहन मुद्दामा आज जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा गर्न आदेश गरिएका टेलिभिजनकर्मी रवि लामिछाने र युवराज कँडेलले जारी मुद्दाको विषयमा कुनै पनि सार्वजनिक माध्यममा सार्वजनिक धारणा वा विचार राख्न नपाउने भएका छन्।
जिल्ला अदालतले लिखित पूर्ण आदेश बाहिर ल्याइनसके पनि श्रेष्तेदार रुद्रमणि गिरीले दिएको जानकारीअनुसार उनीहरुले आफ्नो कार्यक्रम सिधा कुरामा यस मुद्दासम्बन्धी कुनैपनि विषय उठान र प्रसारण गर्न पाउने छैनन्।
अदालतको आदेशमा उनीहरु दुवैले फेसबूक, युट्युबजस्ता सामाजिक सञ्जालमा पनि यो कुरा लेख्न वा बोल्न रोक लगाएको छ। त्यस्तै उनीहरु विदेश जानु परेको खण्डमा पनि जिल्ला अदालत चितवनको अनुमति लिनुपर्ने छ।

तीनै जनाको पहिलो तारेख असोज ५ गते
चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ। आज चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि मिति तय गरेको हो।