चितवन, भदौ ०८। चितवन विगत १० दिनदेखि अशान्त बनिरहेको छ। आइतबार दसौँदिन अझ आन्दोलनले उग्र रूप लिएको छ। विशेष गरी भरतपुरको चौबीसकोठी क्षेत्रमा हरेक दिन आन्दोलन हुने गरेको छ। आइतबार रवि लामिछानेका समर्थकहरुले भरतपुरको चौविसकोठीमा राजमार्गसमेत अबरुद्ध गरेका थिए।
आन्दोलन गर्नेमाथि प्रहरीले दमन गरेको भन्दै रवि समर्थकहरूले आइतबार टायर बालेर प्रदर्शन गरेका छन्। आन्दोलनलाई मत्थर बनाउन प्रहरीले अश्रग्याँस प्रहार गरेर आन्दोलनकारीलाई तितरबितर बनाउने प्रयास गरेपछि आन्दोलनले झनै उग्र रूप लिएको हो। दिनभर प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था नै सिर्जना भयो। झडपबाट केही प्रहरी र प्रदर्शनकारीसमेत घाइते भएका छन्।
न्युज २४ का कार्यक्रम ‘सीधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेसँगै युवराज कँडेल र रूकु भनिने अस्मिता कार्कीलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहनको आरोपमा प्रहरीले हिरासतमा राखेपछि रिहाइको माग गर्दै आन्दोलन चर्काएका हुन्। पुडासैनीको गत साउन २० गते चितवनको नारायणगढस्थित होटल कंगारुको एउटा कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
अस्मिताको बयान लिइयो, रवि र युवराजको सोमबार
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीको आइतबार चितवन जिल्ला अदालतमा बयान लिइएको छ। सरकारी वकीलको कार्यालयले आइतबार आत्महत्या दुरुत्साहन अभियोगमा मुद्धा दर्ता गरेपछि अभियुक्तहरुको बयान लिन सुरु भएको हो।
सो क्रममा पहिलो बयान अस्मिता कार्कीको लिइएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए। आइतबार समय अभावका कारण बाँकी रवि लामिछाने र युवराज कँडेलको सोमबार बिहान १० बजेबाट बयान लिइने उनको भनाइ छ। दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ।