चितवन, ०८ भदौ। विगत लामो समयदेखि वातावरण सरसफाइको अभियान चलाउँदै आएको समूह ‘वे ग्रुप नेपाल’ले शनिबार एउटा फरक खालको कार्यक्रम आयोजना गर्यो, जुन पहिलो थियो। तीज नजिकिँदै गर्दा वातावरण संरक्षणको विषयलाई लिएर गीतमार्फत प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा आनन्द महिला समूह भरतपुर ५ ले पहिलो स्थान हासिल गर्दै नगद २० हजार रूपैयाँ राशीसहितको पुरस्कार जितेको छ।
कूल २३ समूहको सहभागीता रहेको प्रतियोगितामा आनन्द महिला समूहले सबै प्रतियोगी समूहलाई पछि पार्दै आनन्द महिला समूहले प्रथम स्थान ओगट्न सफल भएको हो। भरतपुर १५ स्थित जानकी आमा समूहले दोस्रो कब्जा गर्दै नगद १५ हजार रूपैयाँ पुरस्कार जितेको छ भने भरतपुर १२ स्थित जयदुर्गा आमा समूहले तेस्रो स्थान हासिल गर्दै नगद १० हजार रूपैयाँ पुरस्कार जितेको छ। भरतपुर ४ स्थित वैकुण्ठचोक शान्ति आमा समूहले भने सान्त्वना स्थानमा चित्त बुझाउँदै नगद पाँच हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ। साथै प्रतियोगितामा बिजयी समूहले प्रमाणपत्रसमेत प्राप्त गरेका छन्।
वे ग्रुपले केही दिनअघिदेखि प्रतियोगिताको लागि निःशुल्क दर्ता खुला गरेको थियो। जसमा ४३ समूहले नाम दर्ता गराएका कार्यक्रम संयोजक दीपक गौतमले जानकारी दिए। विशुद्ध वातावरण, सरसफाइ र स्वास्थ्यसम्बन्धी विषय समेटिएका गीतले मात्रै प्रतियोगितामा भाग लिन पाउने निर्णय गरेकोले सोही अनुसारका शब्द रहेका गीतलाई मात्रै प्रतियोगितामा समावेश गराइएको उनले बताए।
तीज पर्वको महत्व झल्किने गरी वातावरण संरक्षण र सरसफाइ गर्न टेवा पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको वे ग्रुप नेपालका अध्यक्ष भोजनारायण कँडेलले जानकारी दिए। ‘तीज पर्वको मौलिकतासँगै समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भने, ‘पछिल्लो समय जति वातावरण प्रदूषण बढ्दै गएको छ, समाजमा पनि त्यत्तिकै विसंगति फैलिँदै गएको छ। त्यसैले त्यस्ता विसंगतिलाई हटाउन सहयोग पुगोस् भन्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेका हौँ।’

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रदेश सांसद विजय सुवेदीले पनि तीज पर्वलाई भड्किलो नबनाउन आग्रह गरे। ‘पछिल्लो समय तीज पर्व मौलिक नभई विसंगतितर्फ मोडिएको छ,’ उनले भने, ‘कुनैबेला दिदीबहिनीहरूको दुःख र वेदना पोख्ने पर्व भनेर चिनिने तीजको मौलिकता के हो भन्ने बुझ्नुपर्ने बेला भएको छ। त्यसैले तीज पर्वलाई भड्किलो नबनाऔँ।’ महंगा पाटी प्यालेसमा दर खाने र गहना प्रदर्शन गर्दा नहुनेलाई मानसिक असर पर्ने हुँदा हुनेखानेले त्यसतर्फ सोच्न उनले आग्रह गरे।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले तीज पर्वको मौलिकता र मर्म मर्न दिन नहुने बताइन्। ‘नत्र नेपाली मौलिक पहिचान हराउँदै जान्छ,’ उनले भनिन्। वे ग्रुपले वातावरण सरसफाइसम्बन्धी प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेर वर्तमान समयको आवश्यकता र समाजको मर्मअनुसार कार्यक्रम आयोजना गरेको उनले बताइन्।