चितवन, ०३ भदौ। पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरूत्साहन गरेको अभियोगमा गत बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन ल्याइएका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीमाथि थप अनुसन्धानको लागि म्याद थप गरेको हो।
यसअघि अनुसन्धानको लागि दिएको पाँच दिनको म्याद मंगलबार सकिएपछि थप अनुसन्धानको लागि फेरि पाँच दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।
जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा बहस भएको हो। रवि लामिछानेका समर्थकहरूले भने अझै पनि प्रदर्शन गर्न छाडेका छैनन्। शान्तिपूर्ण आन्दोलन गर्दा पनि प्रहरीले दमन गरेको भन्दै प्रहरीसँग आक्रोश पोखेका छन्। समर्थकहरूले रवि लामिछानेसहित तीनै जनालाई चितवन ल्याएदेखि नै प्रदर्शन चर्काएका हुन्। रवि लामिछानेलाई फसाएर जेल हाल्ने प्रपञ्च रचेको उनीहरूको आरोप छ।
पत्रकार पुडासैनी साउन २० गते नारायणगढको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उक्त घटना भएको ९ दिनपछि पुडासैनीले रेकर्ड गरेको भनिएको भिडियो बाहिरिएपछि रवि लामिछानेसहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो।
पोष्टमार्टम रिपोर्ट भन्छ, ‘झुण्डिएकै कारण मृत्यु भएको हो’
माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको उनले बताए।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज भने मृतक स्वयम्कै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको उनले बताए। पुडासैनीको मोवाइलमा लामा–छोटा गरी पाँचवटा भिडियो क्लिप रहेको स्रोतले बुझिएको छ।
फरक–फरक भिडियो क्लिपमा भएकै कारणले पुडासैनीको आवाज फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको तथा एक अवस्थामा सिरानी रहेको र अर्को अवस्थामा सिरानी नरहेकोजस्तो फरक दृश्य देखिएको अनुसन्धानले देखाएको छ।