काठमाडौँ, ०२ भदौ। भारतको जम्मु काश्मीरमा भइरहेको गतिविधिलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताएको छ। भारतले अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएर जम्मु कश्मीरको विशेष राज्यको दर्ता खोसेको छ भने लद्दाखलाई अलग राज्य बनाएको छ।
यसलाई लिएर जम्मु कश्मीरमा जारी तनाव र पाकिस्तानले गरेको विरोधबारे नेपाल सरकार परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर नेपालको धारणा सार्वजनिक गरेको हो।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मु कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताए। ‘जम्मु कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको छ,’ उनले भने, ‘त्यहाँ रहेका नेपाली सबै सुरक्षित छन्।’ मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताए।