प्रदर्शनमा नजान कार्यकतालाई नेकपाको निर्देशन, कांग्रेस भन्छ, ‘निर्दोष नफसून्, दोषी नछुटून्’
चितवन, ०२ भदौ। माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले चितवन केही दिनदेखि अशान्त बनिरकेको छ। पुडासैनीले आत्महत्या गर्नुपूर्व रेकर्ड गरिएको भनिएको भिडियोको आधारमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलसहित नर्स अस्मिता कार्कीलाई चितवन प्रहरीको हिरासतमा राखेदेखि नै लामिछानेका समर्थकहरूले चितवनमा प्रदर्शन चर्काइरहेका छन्।
बेलाबेला प्रहरीसँग झडपको अवस्थासमेत सिर्जना भएको छ। तर, घटनाले उग्ररूप लिन सक्ने भन्दै चितवन प्रहरीले संयसमता अपनाएको जनाएको छ। जनस्तरबाटै रवि लामिछानेको पक्षमा आवाज उठिरहेका बेला जिल्लाका ठूला दलहरूले भने सोमबार विज्ञप्तिमार्फत आ–आफ्नो धारणा सार्वजनिक गरेका छन्।
नेकपा र नेपाली कांग्रेसले पार्टीको नामबाट विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेका हुन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लको विषयलाई लिएर केही वादविवादका कुरा चलिरहेका बेला सत्तारूढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छुट्टाछुट्टै विज्ञप्तिमार्फत आ–आफ्नो धारणा सार्वजनिक गरिएको हो।
चितवनका एसपी मल्ल कुनै समय नेकपाका अध्यक्ष प्रचण्डको बडीगार्डको रूपमा कार्यरत रहेकाले मल्ल र प्रचण्डको मिलेमतोमा निष्पक्ष छानबिन हुनबाट चुक्ने पो हो कि भन्ने खालका आशंकासमेत पैदा भइरहेको छ।
प्रदर्शनमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन
नेकपा चितवनले रवि लामिछानेको समर्थनमा भइरहेको गतिविधिमा सहभागी नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ। न्यायलयको निर्णयलाई नै प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत, अराजक गतिविधि तथा लगाइएका नाराहरू परिवर्तनविरोधी भएको भन्दै त्यस्ता कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको हो।
‘नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रकै विरूद्ध नारा लगाउनु नेपाली जनताप्रतिको अपमान हो,’ विज्ञप्तिमा भनिएको छ। यसै घटनालाई लिएर पार्टीको नेतृत्वविरूद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीलाई बढवा दिने काम भएको भन्दै ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल भएको संज्ञा दिएको छ।
‘अनुसन्धानका क्रममा न्यायिक हिरासतमा लिइएका व्यक्तिको सन्दर्भमा न्यायिक ढंगले नै निरुपण गर्न दिइनु पर्ने पार्टीको ठहर छ,’ अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानप्रति आशंका लागेमा वा न्यायालयको निर्णयउपर चित्त नबुझेमा पुनरावेदन गर्न संविधानले स्पष्ट व्यवस्था छ।’

निर्दोष नफसोस्, दोषी नछुटोस्
नेपाली कांग्रेस चितवनले पनि विज्ञप्ति निकालेर पार्टीको धारणा सार्वजनिक गरेको छ। पत्रकार पुडासैनी मृत्यु प्रकरणमा निर्दाेष जेल पर्ने र दोषी छुट्ने काम हुन नहुने पार्टीले जनाएको छ।
पार्टी सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको गम्भीररूपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्दछौँ।’ जनताको मौलिक हक कुनै पनि असहज परिस्थितिमा हनन् हुन नहुने विज्ञप्तिमा भनिएको छ।
‘विधिको शासन र स्वतन्त्र न्यापपालिकाको सम्मान हुनुपर्नेमा नेपाली कांग्रेस चितवन दृढ रहेको सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ। चितवनमा भइरहेको पछिल्लो जनप्रदर्शनले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको कांग्रेसले निष्कर्ष निकालेको छ।

संघर्ष समितिका अध्यक्षद्वारा राजीनामा
रवि लामिछानेको समर्थनमा दैनिक आन्दोलन भइरहेका बेला ‘रवि लामिछाने बचाउ संघर्ष समिति’का अध्यक्ष सरोज घिमिरेले भने अध्यक्ष पदबाट राजिनामा दिएको घोषणा गरेका छन्। छानविन कार्यलाई नै प्रभावित पार्ने गरी उच्छृंखल गतिविधि हुन लागेको कारण देखाउँदै सोमबारदेखि अध्यक्षको भूमिकामा नरहने विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
तर, रवि लामिछानेका समर्थकहरूले भने सोमबार पनि प्रदर्शनलाई जारी राखे। आइतबार अनुसन्धान ब्यूरोको टोली नै चितवन आएपछि भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रलाई प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरिए पनि त्यसभन्दा बाहिर प्रदर्शन गरेका थिए।