चितवन, ०२ भदौ। चितवनको भरतपुरस्थित चौवीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखामा आगालागी भएको छ। सोमबार बिहान आगालागी भएको हो। आगलागीबाट तल्लो तलाका अधिकांस सामान जलेर नष्ट भएका छन्। शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ।

आगो नियन्त्रणमा लिनको लागि भरतपुर महानगरपालिकाको दुईवटा र खैरहनी, राप्ती र रत्ननगर नगरपालिकाले संयुक्त रूपमा सञ्चालन गरेको एउटा गरी तीनवटा बारुणयन्त्र परिचालन गरिएको थियो।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगालागीबाट के कति क्षति भएको छ भन्ने बारे विवरण आइसकेको छैन। तर, दुईतले भवनको भुईँतलाको कोठाबाट आगो सल्किएर माथिल्लो तलामा पुगेकोले धेरै नै क्षति भएको प्रहरीले अनुमान गरेको छ। विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ।

मोबाइल पसलमा आगलागी
नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा पनि आइतबार राति आगलागी भएको छ। आगलागीबाट भवनको भुइ तलामा रहेको गुगल मोबाइल पसलका अधिकांश सामान जलेर नष्ट भएका छन्। आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन।
तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ। भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।