चितवन, ०२ भदौ। सरकारले व्यक्तिगत स्थायी लेखा नं. लिन अनिवार्य गरेपछि चितवनस्थित आन्तरिक राजस्व कार्यालय भरतपुर एक महिनामै करिब नौ हजार जनाले व्यक्तिगत स्थायी लेखा नं. लिएका छन्। गतवर्ष साउन महिनामा जम्मा ३५३ जनाले मात्रै व्यक्तिगत स्थायी लेखा नं. लिएको चितवन जिल्लामा यस वर्षको साउन महिनामा मात्रै आठ हजार ९११ जनाले व्यक्तिगत स्थायी लेखा नं. लिएका कार्यालयले जनाएको छ।
साउन महिनाभर वितरण भएका १२ हजार ७८८ स्थायी लेखा नं.मध्ये व्यक्तिगत स्थायी लेखा नं. लिनेको संख्या सबैभन्दा धेरै रहेको कार्यालयका सूचना अधिकारी एवम् कर अधिकृत धमिश्वर अर्यालले जानकारी दिए। पछिल्लो समय व्यक्तिगत स्थायी लेखा नं. लिनेको संख्या बेढेसँगै कामको चापसमेत बढेको उनले बताए।
‘अहिले हरेक दिन औषतमा ४०० भन्दा बढी ले कार्यालयबाट सेवा लिइरहेका छन्, गतवर्ष यही समयमा औषतमा दैनिक ६० जनाले सेवा लिएका थिए,’ उनले भने, ‘त्यसैले गतवर्षको साउन महिनाको तुलनामा यसवर्षको साउन महिनामा व्यक्तिगत स्थायी लेखा नं. लिनेको संख्या दुई हजार ४२४ दशमलव ४ प्रतिशतले वृद्धि भएको देखिन्छ।’
साउन महिनाको तथ्यांकमात्रै हेर्दा आन्तरिक राजस्व कार्यालय चितवनबाट आयकरतर्फ दुई हजार ६९०, मूल्य अभिवृद्धि करतर्फ २३५ र अन्तशुल्कतर्फ ३६७ जनाले स्थायी लेखा नं. लिएका छन्। गतवर्षको तुलनामा यसवर्षको साउन महिनामा सबै शीर्षकमा स्थायी लेखा नं. लिनेको संख्या बढेको छ।

मूल्य अभिवृद्धि करतर्फ २४५.१, आयकरतर्फ १५२.८ र अन्तशुल्कतर्फ १३२.१ प्रतिशतका दरले वृद्धि भएको उनले बताए। संख्याको आधारमा गतवर्ष साउन महिनामा आयकरतर्फ एक हजार ६४, व्यक्तिगततर्फ ३५३, मूल्य अभिवद्धि करतर्फ २३५ र अन्तशुल्कतर्फ १६२ जनाले स्थायी पान नं. लिएका थिए।
वार्षिक तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७५/०७६ मा व्यक्तिगततर्फ ४३ हजार ४८३, आयकरतर्फ ५३ हजार ५३३, मूल्य अभिवृद्धि करतर्फ आठ हजार ४५९ र अन्तशुल्कतर्फ पाँच हजार १०३ ले स्थायी लेखा नं. लिएका थिए। यस्तै आर्थिक वर्ष २०७४/०७५ मा व्यक्तिगततर्फ तीन हजार ३३०, आयकरतर्फ छ हजार ३४८, मूल्य अभिवृद्धि करतर्फ एक हजार ४७ र अन्तशुल्कतर्फ जम्मा ७०० जनाले स्थायी लेखा नं. लिएका थिए।
प्रतिशतको आधारमा हरेक क्षेत्रमा वार्षिकरूपमा स्थायी लेखा नं. लिनेको संख्यामा तीव्र वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा व्यक्तिगततर्फ २६५.५०, आयकरतर्फ ३२.५६, मूल्य अभिवृद्धि करतर्फ ७२.२ र अन्तशुल्कतर्फ जम्मा २२ प्रतिशतका दरले स्थायी लेखा नं. लिएको देखिन्छ।