चितवन, ०१ भदौ। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली आइतबार चितवन आएको छ।
अनुसन्धानमा थप सहयोग पुर्याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। ‘काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्नेछन्,’ उनले भने। टोलीले आइतबारबाट नै अनुसन्धानको काम सुरू गरेको छ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ।दैनिकरुपमा भइरहेका प्रदर्शनले पनि अनुसन्धानमा समस्या भइरहेका बेला टोली नै आएपछि थप सहज हुने उनले बताए। तीन दिनदेखिको प्रदर्शनका कारण जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो सम्पूर्ण शक्ति भीड व्यवस्थापन र नियन्त्रणमा खर्च गर्नुपरेको छ।
गत बिहीबार साँझ काठमाडौँबाट नियन्त्रणमा लिइएका न्युज २४ टेलिभिजनका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेलसहित नर्स अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतले शुक्रबार पाँच दिन थुनामा राख्न आदेश दिएको थियो। पुडासैनीको मृत्यु प्रकरणप्रति नागरिक समाजले समेत चासो व्यक्त गरेको छ। समाजले निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेको छ।
रवि लामिछानेलाई प्रहरीले नियन्त्रण गरेर चितवन ल्याएदेखि नै चितवनमा हरेक दिन प्रदर्शन हुँदै आएको छ। गत साउन २० गते चितवनको नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
घटनाको निष्पक्ष छानबिन गर्न माग
पत्रकार पुडासैनी मृत्युको विषयमा अनुसन्धान गर्न पत्रकार रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरिएको तरिकाप्रति प्रजातान्त्रिक विचार समाजले गम्भीर ध्यानकार्षण भएको जनाएको छ।
पत्रकार लामिछाने कार्यरत सञ्चारगृहमा अनधिकृतरुपमा प्रहरी प्रवेश गरी प्रक्राउ गर्नुलाई समाजले सञ्चारगृहको स्वायत्त मर्यादामाथि हस्तक्षेप भएको ठहर गरेको छ। समाजका अध्यक्ष डा केदारनरसिंह केसीले आइतबार विज्ञप्ति जारी गर्दै घटनाले कुनै पनि बेला जोसुकै व्यक्ति पर्नसक्ने भन्ने देखाएकाले सञ्चारगृह माथि प्रहरी हस्तक्षेप गराइने र गर्ने सम्भावना स्पष्ट भएको उल्लेख बताएका छन्।
कानूनी राज्य र विधिको शासनमा अटुट विश्वास राख्ने भएकाले अनुसन्धानमा सबैले सहयोग गर्नुपर्ने समाजले जनाएको छ। पत्रकार पुडासैनीको मृत्युको विषयमा विरोधाभाषी अनेक प्रकारका चर्चा सार्वजनिक भएकाले छानबिन गर्न माग गरिएको छ।
सरकारले निष्पक्ष अनुसन्धान गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुपर्ने माग पनि समाजले गरेको छ। कोही पनि निर्दोष व्यक्तिलाई फसाइनु हुँदैन भन्ने कानूनी मान्यताको समर्थन समाजले गरेको अध्यक्ष केसीले बताए। – रासस


























