चितवन, ०१ भदौ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले उब्जाएको समस्या समाधानको लागि राजनैतिक दलका प्रतिनिधीहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय बैठकमा दलहरूले घटनाको निष्पक्ष छानविन गर्न र जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न तत्परता देखाएका हुन्।
‘दलहरुले पक्ष–विपक्ष नभनी शान्ति सुरक्षा कायम गर्न प्रशासनलाई सहयोग पुर्याउने निर्णय भएको छ,’ सहायक प्रमुख जिल्ला जनकराज पन्तले भने, बैठकले दैनिक जीवनमा असर पुग्ने गरी न्याय सम्पादनमा असर पुग्ने गरी तोडफोडलगायतका कार्यलाई निरुत्साहित गर्न सहयोग पु¥याउने निर्णय गरेको छ।’
बैठकमा सहभागी नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार (इन्द्रजीत)ले घटनाबारे अनुसन्धान भइरहेकै बेला बाहिर सडकमा उच्छृङ्खल गतिविधि गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए। नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले शान्तिपूर्ण आन्दोलन गर्न पाउने भए पनि उछृङ्खल गतिविधि गर्ने छूट कसैलाई नभएको बताए।
नेकपाका नेता तेजेन्द्र खड्काले पनि आरोप लागेका व्यक्तिलाई ढुक्क भएर छानविन गर्न दिनुपर्ने बताए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले चितवनको शान्ति सुरक्षाको लागि प्रहरी प्रशासन सधैँ तयार रहेको बताए।