चितवन, ३१ साउन। पत्रकार शालिकराम पुडासैनी घटनामा आरोपित तीनजनालाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लका अनुसार पुडासैनीले आरोप लगाएका पत्रकार रवि लामिछानेसमित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखेर थप अनुसन्धान गरिनेछ।

‘तीनैजनालाई यही साउन ३० गतेबाट लागू हुने गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ,’ उनले भने। मृतकले छाडेको भिडियो फाइलको आधारमा तीनैजनालाई बिहीबार काठमाडौँबाट नियन्त्रणमा लिएर चितवन ल्याएको हो। आत्महत्या गर्न दुरुत्साहन गरेको कसुर लागेका तीनैजनालाई चितवन जिल्ला अदालतले पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतम राखेर अनुसन्धान गर्न आदेश दिइएको छ।

नेपालको कानुनअनुसार पक्राउ परेका तीनैजना दोषी प्रमाणित भएमा आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पाँचवर्ष जेल सजाय र पचास हजार रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। बिहीबार मध्यरातमा चितवन ल्याएपछि शुक्रबार बिहानैबाट रवि लामिछानेका समर्थकहरु जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका थिए।
पक्राउ परेका तीनैजनालाई अदालतमा लैजानको लागि प्रहरी कार्यालयको मूल गेटअगाडिबाट सम्भव नभएपछि पूर्वतर्फको गेटबाट निकालेर सरकारी वकिलको कार्यालय पुर्याइएको थियो। त्यसपछि लामिछानेका समर्थहरु फेरि सरकारी वकिलको कार्यालय र चितवन जिल्ला अदालतको मूलगेट अगाडि जम्मा भएर नाराबाजी गरेका थिए।

न्युज २४ बाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सिधाकुरा जनतासँग’ मा सँगै काम गरेका पत्रकार शालिकराम पुडासैनी केही महिनाअघि मात्रै माउन्टेन टेलिभिजन गएका थिए। माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ नामक खोजमुलक कार्यक्रम सञ्चालन गर्दै आएका पुडासैनी यही साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।